नेपाल राष्ट्र बैंकले १० वर्षपछि फेरि दैनिकजसो ऋणपत्र जारी गर्न थालेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अधिकको अवस्था सिर्जना भएपछि निक्षेप मात्रै संकलन गर्दै आएको केन्द्रीय बैंकले व्यवस्थापनमा रणनीति परिवर्तन गरेको हो।
योसँगै १० वर्षपछि धमाधम ऋणपत्र निष्काशन हुनथालेको छ। सोमबार २५ अर्बबराबरको एक वर्षे ऋणपत्र जारी गरेको राष्ट्र बैंकले मंगलबार पुनः २० अर्बको ऋणपत्र जारी गरेको छ। योसहित पुसयताका १५ दिनमा बैंकले ८ पटक गरेर १ खर्ब ८० अर्ब बराबरको ऋणपत्र निष्काशन गरिसकेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिले संरचनागत तरलता व्यवस्थापन गर्ने गरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा दुई सय अर्बसम्मको ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको थियो।
यसअनुसार पछिल्लो १५ दिनमै १ खर्ब ८० अर्बबराबरको ऋणपत्र निष्काशनमा ल्याइसकेको छ। अब ऋणपत्रको कोटा सकिन २० अर्ब मात्र बाँकी छ। केन्द्रीय बैंकले तरलता अधिकको अवस्था लामो समयसम्म जानसक्ने देखेर दीर्घकालीन तरलता प्रशोचनको उपाय अपनाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले बताए।
उनले भने, ‘यसअघि तरलता प्रशोचनका लागि स्थायी निक्षेप सुविधा र निक्षेप संकलन प्रयोग गर्दै आएकोमा अब लामो अवधिको ऋणपत्रमार्फत तरलता व्यवस्थापनमा लागिएको हो।’ यसलाई अन्य क्षेत्रमा लगानीका लागि ऋणपत्र जारी गरिएको रुपमा नबुझ्न उनले आग्रह गरे।
राष्ट्र बैंकले पुस १३ गतेबाट निक्षेप संकलनलाई रोकेको छ भने एक वर्षका लागि तरलता प्रशोचन गर्न थालेको छ। पुस १३ गते बैंकले २० अर्बको निक्षेप संकलन गरेको थियो। त्यसको भोलिपल्ट पुस १४ बाट ऋणपत्र जारी गर्न थालेको हो। राष्ट्र बैंकले पुस १४, १६, २०, २२ र २८ गते २५ अर्ब दरमा ऋण पत्र निष्काशनमा ल्याएको छ भने पुस २३ र २९ गते २० अर्ब, २४ गते १० अर्बको ऋणपत्र निष्कासन गरेको छ।
यसरी आठ पटक गरेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट १ खर्ब ५५ अर्ब माग गर्दा बैंक तथा वित्तीय संस्थाहरूले झण्डै ४ खर्बबराबरको रकम ऋणपत्रमा लगानी गर्न आवेदन दिएका थिए। बैंक तथा वित्तीय संस्थाहरूले १५ दिनमा न्यूनतम २.६४ प्रतिशतसम्म ३ खर्ब ८८ अर्बबराबरको रकम एक वर्षका लागि ऋणपत्रमा लगानी गर्न चाहेका थिए। तर राष्ट्र बैंकले १ खर्ब ५५ अर्ब मात्रै लिएको थियो।
राष्ट्र बैंकले यसअघि आव २०५३/५४ मा यस्तो ऋणपत्र जारी गरेको थियो। त्यसपछि भने आव २०७१/७२ मा यसखालको ऋणपत्र जारी भएको थियो। त्यसपछि ऋणपत्र निष्काशन नगरेको बैंकले पुस लागेयता फेरि दिन बिराएरै एक वर्षे ऋणपत्र निष्काशन गर्न थालेको हो।
गएको दुई वर्षदेखि नेपाली बैंक तथा वित्तीय संस्थाहरूले अधिक तरलताको मारमा छन्। बैंक तथा वित्तीय संस्थाहरूसँग अहिले करिब १२ खर्ब बराबरको तरल सम्पत्ति छ। जुन उनीहरूको लगानीयोग्य सम्पत्ति हो। अर्थतन्त्र चलायमान बन्न नसकेर सुस्ताउँदै त्यसको प्रत्यक्ष असर बैंकको कर्जा प्रवाहमा देखिएको छ। यसले कर्जा प्रवाह अपेक्षित हुन नसक्दा पनि निक्षेप बढेको बढ्यै र कर्जा घटेको घट्यै अवस्था छ।
नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई तरलता अधिकको समस्याबाट निकाल्न दिन बिराएर मुद्रा प्रशोचनका लागि मौद्रिक औजारहरू जारी गर्दै आएको थियो। न्यूनतम २.४७ प्रतिशत ब्याजमै राष्ट्र बैंकले ४० पटक निक्षेप संकलन जारी गरेर पछिल्लो ५ महिनामा १८ खर्ब ६० अर्ब रकम प्रशोचन गरेको थियो। यस्तै स्थायी निक्षेप सुविधामार्फत ६७ पटक गरेर २ सय ६२ खर्ब ६८ अर्ब रकम प्रशोचन गरेको थियो।
छोटो समयावधिका लागि तरलता प्रशोचन गर्दै आएको राष्ट्र बैकले गत पुस १४ गतेबाट भने रणनीति फेर्दै ऋणपत्र निष्काशनमा ल्याउन थालेको हो। सामान्यतया निक्षेप भनेको बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग धेरै भएको पैसा राष्ट्र बैंकको खातामा न्यूनतम ब्याजमा राख्नु हो। यस्तै ऋणपत्र भनेको एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समयपश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन्। दुवै औजारले बैंक तथा वित्तीय क्षेत्रको तरल सम्पत्ति प्रशोचन गर्छ।
तर ऋणपत्र भने बैंकले आफूले लगानी गर्ने उद्देश्यसहित जारी गर्ने गर्छ। बैंकहरूसँग भएको तरलता अधिकको अवस्था रहिरहन सक्ने अनुमानसहित एक वर्षका लागि १ खर्ब ८० अर्ब ‘होल्ड’ गर्ने भएको हो। यसबापत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई २.६४ प्रतिशतदेखि २.७१ प्रतिशतसम्म ब्याज दिनुपर्छ।
कहिले कतिको ऋणपत्र?
निष्काशन मिति निष्काशित रकम (रु. अर्बमा) समयावधि (वर्षमा)
पुस २९ २० १
पुस २८ २५ १
पुस २४ १० १
पुस २३ २० १
पुस २२ २५ १
पुस २० २५ १
पुस १६ २५ १
पुस १४ २५ १
नोट : पुस १३ मा राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन गरेको थियो। त्यसयता ऋणपत्र निष्काशन गरिररहेको छ।

Comment