कांग्रेस विशेष महाधिवेशन: सभापतिमा उम्मेदवारी दिन ३० हजार, अरु पदमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता शुल्क निर्धारण गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीद्वारा जारी सूचनाअनुसार ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची–७ बमोजिम उम्मेदवारी दर्ता शुल्क तोकिएको हो।

निर्धारित शुल्कअनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ तिर्नुपर्नेछ। केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५–२५ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, सहमहामन्त्री पदका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनेले १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको छ। पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मतदानको समयसमेत निर्धारण गरेको हो।

सार्वजनिक कार्यतालिकाअनुसार आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ। निर्वाचन प्रक्रिया भने दिउँसोदेखि नै सुरु भएको छ। तालिकाअनुसार दिउँसो १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिएको थियो। दिउँसो १:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध र छानबिनको समय तोकिएको छ भने अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि अपराह्न २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ। मनोनयन दर्तापछि उम्मेदवारहरूको पहिलो नामावली नेपाली वर्णानुक्रम (देवनागरी लिपि) अनुसार प्रकाशन गरिनेछ।

उम्मेदवारीमाथि दाबी–विरोध र त्यसको छानबिन साँझ ७ बजेसम्म सम्पन्न गरी राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्लेख छ। अन्तिम नामावली प्रकाशनसँगै राति ९ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ।

निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै कांग्रेसभित्र संस्थापन र इतर पक्षका नेताहरू आ–आफ्नो रणनीति बनाउन तथा आन्तरिक छलफलमा तीव्र रूपमा सक्रिय भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।