कांग्रेस विशेष महाधिवेशनमा शर्मा भन्छन्– हिन्दु धर्म र सनातन धार्मिक स्वतन्त्रता पुनःबहाली गरौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रको पुनःबहालीका विषयमा देशमा क्रियाशील सबै राजनीतिक तथा सामाजिक शक्तिसँग विचार–विमर्श गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गण्डकी प्रदेशको तर्फबाट धारणा राख्दै शर्माले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता र हिन्दु धर्म पुनःबहालीको माग गरे। उनले देश र जनता बचाउनु अहिलेको पहिलो दायित्व भएको उल्लेख गरे।

सभापति शर्माले वर्तमान गणतन्त्रकै संरचना भए पनि प्रतिक्रियावादी शक्तिहरू फेरि उठ्न नसक्ने गरी व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा राखे। देशमाथि विभिन्न प्रकारका संकट देखा परिरहेको उल्लेख गर्दै ती संकटको समाधानका लागि नेपाली कांग्रेसको नेतृत्व खोजिएको उनको भनाइ थियो।

उनले नेपाली कांग्रेसलाई जोगाउनु नै देशमाथि परेको संकट समाधानको आधार भएको उल्लेख गर्दै महाधिवेशनमार्फत परिमार्जित, सक्षम र देश तथा जनताको सेवामा समर्पित नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

“नेपाली कांग्रेस बचाउनु पहिलो काम हो। देशमाथि परेको संकट समाधान गर्न पनि नेपाली कांग्रेसको नेतृत्व आवश्यक छ,” शर्माले भने, “तसर्थ महाधिवेशनबाट देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी विशेष महाधिवेशनलाई ऐतिहासिक बनाऔँ।”

उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सनातन धार्मिक स्वतन्त्रताको रक्षा गर्दै हिन्दु धर्म पुनःबहालीका विषयमा पनि गम्भीर छलफल आवश्यक रहेको बताए। साथै संवैधानिक राजतन्त्र पुनःबहालीका सवालमा सबै क्रियाशील शक्तिसँग व्यापक विचार–विमर्श गर्नुपर्ने उनको प्रस्ताव थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।