२५ अर्ब रुपैयाँको लागतमा सप्तरीमा ३ सय बेडको अस्पताल निर्माण हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा ३ सय बेडको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पताल निर्माण हुने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले राय–सुझावका लागि सार्वजनिक गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत पेस गरिएको उक्त प्रतिवेदनमा अस्पताल निर्माणको प्रस्तावकका रूपमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति रहेको उल्लेख छ। प्रस्तावित अस्पताल निर्माणको कुल लागत करिब २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

सरकारले यस प्रतिष्ठानअन्तर्गत अस्पताल निर्माण गर्ने निर्णय २०७५ पुसमै मन्त्रिपरिषद्बाट गरिसकेको थियो। यो निर्णय राष्ट्रिय स्वास्थ्य नीति तथा आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रमअनुरूप गरिएको हो।

प्रतिष्ठानअन्तर्गत मधेश प्रदेशको सप्तरी जिल्लास्थित राजविराज नगरपालिका–१० मा ३ सय बेडको आधुनिक शिक्षण अस्पताल निर्माण हुन लागेको हो। अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिवेदनअनुसार प्रतिष्ठानमा चिकित्सा विज्ञान, दन्त चिकित्सा, नर्सिङ, जनस्वास्थ्य, चिकित्सा प्रविधि, फार्मेसी तथा प्रयोगशाला विज्ञानलगायत विषयहरूको अध्यापनसमेत गरिनेछ। यसले स्वास्थ्य सेवासँगै स्वास्थ्य जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रस्तावित आयोजनाका लागि नेपाल सरकारले ६१ बिघा ६ कठ्ठा जग्गा ३० वर्षका लागि लिजमा उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ। अस्पताल निर्माण सम्पन्न भएपछि मधेश प्रदेशकै एक महत्वपूर्ण स्वास्थ्य तथा शैक्षिक केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।