काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा बीमा कम्पनीहरूको लगानी उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) मा बीमा कम्पनीहरूको मुद्दति निक्षेप लगानी करिब ९ प्रतिशतले वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार मंसिरसम्म बीमा कम्पनीहरूले बैंकहरूको मुद्दति निक्षेपमा कुल ६ खर्ब ७८ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो लगानी ६ खर्ब २३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको थियो। यस आधारमा बीमा कम्पनीहरूको लगानी ८.८१ प्रतिशतले बढेको देखिन्छ।
हाल मुलुकमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। यी संस्थाहरूले दीर्घकालीन सुरक्षित लगानीका रूपमा बैंकहरूको मुद्दति निक्षेपलाई प्राथमिकता दिँदै आएका छन्।
यसैबीच, कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेप लगानी भने घटेको छ। चालु वर्षको मंसिरसम्म कोषले बैंकहरूको मुद्दति निक्षेपमा १ खर्ब ७४ अर्ब ६० करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ७९ अर्ब १६ करोड ६२ लाख रुपैयाँको तुलनामा २.५४ प्रतिशत कम हो।
उता नागरिक लगानी कोषको लगानी भने बढ्दो क्रममा देखिएको छ। मंसिरसम्म कोषले बैंकहरूको मुद्दति निक्षेपमा १ खर्ब ४२ अर्ब ६९ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको लगानी १ खर्ब ३५ अर्ब ५ करोड २० लाख रुपैयाँ रहेको थियो। यसले नागरिक लगानी कोषको लगानी ५.१५ प्रतिशतले बढेको संकेत गर्छ।
सर्वसाधारणको बैंक निक्षेप पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिसम्म बैंकहरूमा सर्वसाधारणको कुल निक्षेप ४७ खर्ब ८१ अर्ब १५ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४१ खर्ब ८१ अर्ब ४० करोड ५ लाख रुपैयाँ रहेको थियो। एक वर्षमा सर्वसाधारणको निक्षेप १४.३४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
विश्लेषकहरूका अनुसार निक्षेप वृद्धिले बैंकिङ प्रणालीमा तरलता सुधार भएको संकेत गर्छ भने बीमा तथा कोषहरूको मुद्दति निक्षेपमा बढ्दो लगानीले सुरक्षित र स्थिर प्रतिफलप्रति संस्थागत लगानीकर्ताको आकर्षण बढेको देखाउँछ।

Comment