काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पहिलो दिन २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्।
विशेष महाधिवेशन सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार आइतबार राति ९ बजेसम्म उक्त संख्यामा प्रतिनिधिहरूले नामावली दर्ता गराएका हुन्।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १५८ जना प्रतिनिधि दर्ता भएका छन्। यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि सहभागी भएका छन्।
सचिवालयका सदस्य युवराज पाण्डेद्वारा जारी विज्ञप्तिअनुसार सोमबार पनि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहनेछ। सोमबार बिहान ८ बजेदेखि नाम दर्ता हुने र बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने कार्यक्रम रहेको जनाइएको छ।

Comment