विशेष महाधिवेशनमा नागरिक असन्तुष्टिको ‘केस्राकेस्रा’ केलाइन्छ: विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनलाई नागरिक तहमा व्याप्त असन्तुष्टिका प्रत्येक तह ‘केस्राकेस्रा’सम्म केलाएर छलफल गर्ने मञ्चका रूपमा प्रयोग गरिने बताएका छन्।

आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रत्यक्ष तथा अनलाइन माध्यमबाट महाधिवेशन हेरिरहेका नागरिकलाई सम्बोधन गर्दै उनले जनअसन्तुष्टिलाई कांग्रेसले गम्भीरतापूर्वक आत्मसात् गर्ने स्पष्ट पारे।

“आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू—कसैले लाइभ, कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ। तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं,” शर्माले भने, “फागुन २१ गते रूख चिन्हमा मतदान हुनुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, नदोहोर्‍याउने संकल्पसहित विशेष महाधिवेशनमार्फत हामी अघि बढ्दैछौं।”

महामन्त्री शर्माले पछिल्ला ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्टि कायम हुन नसकेको उल्लेख गरे। सरकार परिवर्तनले सत्तामा पुगेकाहरूलाई सन्तुष्टि दिएको हुनसक्ने तर आम नागरिकले त्यसको अनुभूति गर्न नसकेको उनको भनाइ थियो।

“३४ वर्षमा ३० वटा सरकार बने। सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला, नागरिकलाई मिलेन,” उनले भने, “प्रशासनिक कार्यालयमा सेवा लिन जाँदा सेवाग्राही एक कोठाबाट अर्को कोठा धाइरहनुपर्छ। ‘भोलि–भोलि’ भनिँदा सीडीओ वा मन्त्रीलाई सञ्चो लाग्ला, सेवाग्राहीलाई लाग्दैन।”

कृषि क्षेत्रमा देखिएको समस्यातर्फ संकेत गर्दै शर्माले मल नपाएर खेतमै अल्मलिएका किसानले मन्त्रीको अनुहार सम्झेर खेती हुने मान्यता स्वीकार नगर्ने टिप्पणी गरे। यस्ता असन्तुष्टिका उदाहरण धेरै रहेको र ती सबैलाई विशेष महाधिवेशनको बन्दसत्र प्रतिवेदनमा विस्तृत रूपमा समेटिने उनले जानकारी दिए।

महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केवल संगठनात्मक अभ्यासमा सीमित नराखी जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको सशक्त मञ्चका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।