कांग्रेस विशेष महाधिवेशन : ९ बजेसम्म १०% प्रतिनिधि दर्ता, ६०% सहभागिता अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेदेखि सुरु गरिएको प्रतिनिधि नाम दर्ता प्रक्रियामा बिहान ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।

आयोजकका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले हालसम्मको दर्ता र उपस्थितिको अवस्थाले महाधिवेशनमा उत्साहजनक सहभागिता देखिने संकेत गरेको बताए।

“बिहान ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसक्नुभएको छ,” शिवाकोटीले भने, “सातवटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क व्यवस्था गरिएको छ। अहिले पनि दर्ता स्थलमा लामो लाइन देखिन्छ, जसले सहभागिता उच्च हुने संकेत गर्छ।”

उनका अनुसार महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको र भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले बताए। कांग्रेसका शुभेच्छुक र कार्यकर्ताहरू समेत महाधिवेशन स्थलमा भेला हुन थालेका छन्।

उता, विशेष महाधिवेशनको उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ। महाधिवेशन आयोजक समितिका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ।

सचिवालयका अनुसार बिहान ११ बजे सबै रुटबाट जुलुस निस्कने कार्यक्रम तय गरिएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ। आजै बन्दसत्र पनि प्रारम्भ गरिने जनाइएको छ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।