काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा मुलुकका अधिकांश आर्थिक सूचकहरू सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार घट्दो मुद्रास्फीति, बलियो विदेशी मुद्रा सञ्चिति र उल्लेख्य रूपमा बढेको रेमिट्यान्सले समग्र अर्थतन्त्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको छ। यद्यपि, कर्जा विस्तारको गति र राजस्व–खर्चबीचको अन्तर भने अझै चुनौतीकै रूपमा देखिएको छ।
राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक हुँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशतमा सीमित रहेको छ। औसत मुद्रास्फीति १.५५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढ्दै ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १३ करोड बराबर हो। यो सञ्चिति १८.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ। कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ।
व्यापारतर्फ पाँच महिनामा निर्यात ५८.२ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। भारत र अन्य मुलुकतर्फ निर्यात बढे पनि चीनतर्फको निर्यात भने घटेको छ। आयात १५.८ प्रतिशतले बढेर ७ खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।
बाह्य क्षेत्रका सूचकहरू थप सुदृढ बनेका छन्। पाँच महिनामा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ भने चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा पुगेको छ। प्रत्यक्ष वैदेशिक लगानी पनि बढ्दै ७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
रेमिट्यान्स आप्रवाह अर्थतन्त्रको मुख्य आधारका रूपमा देखिएको छ। पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
सरकारी वित्तीय अवस्थातर्फ भने राजस्व र खर्चबीचको अन्तर कायम नै छ। पाँच महिनामा सरकारको कुल खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने कुल राजस्व परिचालन ४ खर्ब ६ अर्ब ३० करोड रुपैयाँमा सीमित रहेको छ। पुँजीगत खर्च भने अपेक्षाअनुसार हुन सकेको छैन।
मौद्रिक सूचकहरू सन्तुलित देखिए पनि कर्जा विस्तारको गति सुस्त छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३.९ प्रतिशतले बढेर ७५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.९ प्रतिशतले मात्र बढेको छ। वार्षिक आधारमा कर्जा वृद्धि ६.६ प्रतिशत रहेको छ।
समग्रमा घट्दो मुद्रास्फीति, बलियो विदेशी मुद्रा सञ्चिति, बढ्दो निर्यात र रेमिट्यान्सका कारण अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कर्जा विस्तार र सरकारी खर्चको प्रभावकारिता बढाउनुपर्ने चुनौती अझै कायमै रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।

Comment