काठमाडौं । निजी वायुसेवाहरूको छाता संस्था वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
संघको शुक्रबार राजधानीमा आयोजित २५औँ वार्षिक साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका सीईओ सुवास सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका सीईओ उमेश पनेरु चयन भएका छन् ।
यसैगरी, महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित तथा कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी रहेका छन् ।
कार्यसमितिका सदस्यहरूमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट र हेलि एभरेस्टका फुर्वा छिरिङ शेर्पा चयन भएका छन् ।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले वायुसेवा कम्पनीलाई हवाई क्षेत्रमा टिक्ने गरी दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिए । उनले नेपालमा अब महँगो ट्विनअटर ल्याएर व्यवसाय गर्न वायुसेवालाई गाह्रो भएको बताए । उनले नेपालका दुर्गम क्षेत्रमा पनि चल्ने जहाज भने ल्याउनुपर्ने र सेवा दिनुपर्ने बताए ।
सुगम क्षेत्रमा मात्रै उडान गर्ने वायुसेवालाई अब नियामक निकायले कडाइ गर्नुपर्ने अवस्था आएको पनि कर्णले बताए ।
नेपालमा पछिल्लो समय चलेको एटीआर ७२–५०० अब फेजआउट हुँदै गएको उनको बुझाइ छ । अहिलेको अवस्थामा अब ७२–६०० ल्याएर उडान गर्ने गरी योजना बनाउन पनि सम्बन्धित वायुसेवालाई उनले आग्रह गरे ।
उनले नियामकको काम नियमन गर्ने हो तर नियमन गर्दा वायुसेवा नचल्ने र कम हुँदा हवाई सुरक्षामा चुनौती हुने अवस्था रहेको बताए । अब वायुसेवा बचाउने र सुरक्षा पनि कायम गर्ने गरी ओभर रेगुलेट नगरी सञ्चालन गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।

Comment