बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा, एनआरएनएले भन्यो- हामीले आमन्त्रण गरेका छैनौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रस्तावित अमेरिका भ्रमण नहुँदै विवाद उत्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपाल सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका भ्रमणका लागि आमन्त्रण नगरेको स्पष्ट पारेको छ।

परिषद्का प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रमका लागि एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आमन्त्रण गरेको छैन।”

एनआरएनए अमेरिकाले आफ्नो नाम, कर परिचय नम्बर तथा डिजिटल पहिचानको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रमहरू सञ्चालन भइरहेको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ। साथै, यस्ता गतिविधिमा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी कार्यसमेत संलग्न हुन सक्ने विश्वसनीय जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

संस्थाले एनआरएनए अमेरिकाको नाम प्रयोग गरी आयोजना हुने कुनै पनि कार्यक्रमप्रति सतर्क रहन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

मन्त्री गुप्ताको प्रस्तावित अमेरिका भ्रमणबारे उत्पन्न विवादपछि यस विषयले राजनीतिक तथा प्रवासी नेपाली समुदायमा समेत चासो बढाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।