काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन्।
बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पनि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरे।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन औपचारिक अपिल गर्ने निर्णय गरे पनि महामन्त्री थापाले त्यसलाई अस्वीकार गर्दै महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारे।
उनले भने, ‘यो महाधिवेशन पूर्ण रूपमा विधानसम्मत छ। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरिसकेपछि यसलाई रोक्ने वा फिर्ता लिन लगाउने अधिकार कसैलाई छैन।’
विशेष महाधिवेशनलाई सभापतिविरुद्धको कदमका रूपमा नबुझ्न आग्रह गर्दै थापाले सभापति देउवा स्वयं उपस्थित भएर यसको अपनत्व लिनुपर्ने बताए।
‘यो पार्टीकै साथीहरूले गरेको, विधानअनुसारको आयोजना हो। त्यसैले पार्टी सभापतिज्यूले यसलाई सकारात्मक रूपमा बुझिदिनुहोला भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘म आग्रह गर्छु—पुस २७ गते हुने विशेष महाधिवेशनमा सभापतिज्यू पनि सहभागी हुनुहोस्। त्यहाँ सहभागी हुँदा उहाँको मान घट्दैन, बरु बढ्छ।’
महामन्त्री थापाले विशेष महाधिवेशनको माग आफूहरूबाट नभई महाधिवेशन प्रतिनिधिहरूबाट आएको र उनीहरूको माग जायज रहेको दाबी गरे।
‘केन्द्रले नबोलाएको अवस्थामा साथीहरूले आफ्नो अधिकार प्रयोग गर्नुभएको हो। यसलाई पार्टी केन्द्रले स्वीकार गरेर जानु नै बुद्धिमानी हुन्छ,’ उनले भने।
विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरिएको प्रस्तावमा महामन्त्री थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले ‘नोट अफ डिसेन्ट’ लेखेको जानकारी दिँदै थापाले नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने तर्क विधानको अपव्याख्या भएको जिकिर गरे।
‘नियमित महाधिवेशन मंसिरमा गर्न नसक्ने अनि विशेष महाधिवेशन पनि गर्न पाइँदैन भन्नु विधानको खिलाफ हो,’ उनले भने, ‘देशको परिस्थिति र नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न नीति र नेतृत्व फेर्ने उद्देश्यले यो महाधिवेशन हुन लागेको हो। यो फिर्ता हुँदैन।’
विशेष महाधिवेशनले पार्टी फुट्ने तर्कप्रति प्रतिक्रिया दिँदै महामन्त्री थापाले पार्टी फुटाउन नभई एकताबद्ध बनाउन आफूहरू लागिरहेको बताए।
‘हामी पार्टी फुटाउन होइन, जुटाउन लागेका हौं। कार्यकर्ताको भावना नसुन्दा नै पार्टी फुट्ने खतरा बढ्छ। विधि र विधान माने पार्टी झनै बलियो हुन्छ,’ उनले भने।
महामन्त्री थापाले पुस २७ गते हुने विशेष महाधिवेशनमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान समेत गरेका छन्।

Comment