काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टीभित्रैबाट घेराबन्दी गरिएको आरोप लगाउँदै अब चुप नबस्ने चेतावनी दिएका छन् ।
कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले बैठकमा सङ्ख्याको बलमा आफूहरूलाई कमजोर पार्न खोजिए पनि पार्टीपंक्ति र समर्थकको साथ भने आफूहरूसँग रहेको दाबी गरे ।
उनले बैठकमा नेताहरूलाई स्पष्ट रूपमा भनेको उल्लेख गर्दै भने, ‘यहाँ मलाई र विश्वप्रकाशलाई जति घेराबन्दी गरे पनि यो घेरा साँघुरो छ । तर पार्टीका साथीहरू र समर्थकहरूको घेरा निकै फराकिलो छ । तपाईंहरूले सङ्ख्याको आधारमा दम्भ देखाउनुभयो, त्यसैले हामीलाई साँघुरो घेराबाट फराकिलो घेरातर्फ जान बाध्य पारिँदैछ ।’
थापाले पार्टीभित्रको यस्तो व्यवहारका कारण आफूहरू पार्टीपंक्तिमा जान बाध्य भएको बताए । उनले अब आफूहरूले गरेको सङ्घर्ष र धारणा पार्टीका कार्यकर्ता तथा समर्थकमाझ गएर राख्ने स्पष्ट पारे ।

Comment