पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ गते काठमाडौंमा विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ।

विशेष महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार उपसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमार्फत समूहका तर्फबाट सुवास पोखरेलले विशेष महाधिवेशनको औपचारिक घोषणा गरेका हुन्।

पक्षधर समूहका अनुसार विशेष महाधिवेशन आयोजनाका लागि सचिवालयले शान्ति सुरक्षा व्यवस्थासम्बन्धी विषयमा स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको छ। साथै, महाधिवेशनका लागि भृकुटीमण्डपको बुकिङसमेत यसअघि नै भइसकेको जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पार्टी विधानको धारा १७(२) उद्धृत गर्दै विशेष महाधिवेशन कानुनी रूपमा अनिवार्य भएको दाबी गरिएको छ। उक्त धाराअनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन गर्ने सुविधा कसैलाई नभएको उल्लेख गर्दै यो रहर वा छनोटको विषय नभई विधानको बाध्यकारी प्रावधान भएको दाबी गरिएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको जनाएको छ। उनीहरूको भनाइमा पार्टीको वैधानिक र संगठनात्मक संकट समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ।

तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएको छ। देउवा पक्षका अनुसार निर्वाचनको तयारीका कारण हाल विशेष महाधिवेशन आयोजना गर्नु व्यवहारिक नभएको तर्क गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।