जनक घिमिरे
अनुशासन बिग्रियो भने राजनीति बिग्रिन्छ, राजनीति बिग्रियो भने देश बिग्रिन्छ—यो भनाइ आजको नेपालका लागि केवल सैद्धान्तिक चेतावनी मात्र रहेन, बरु यथार्थ भोगाइ बनेको छ। पछिल्ला वर्षहरूमा राजनीतिक अभ्यासमा देखिएको अनुशासनहीनता, असहिष्णुता र अस्वस्थ प्रतिस्पर्धाले देशको समग्र राजनीतिक प्रणालीलाई गम्भीर संकटतर्फ धकेलेको छ।
लोकतन्त्रको मूल आत्मा विचारको प्रतिस्पर्धा हो, अस्तित्व मेटाउने संघर्ष होइन। काङ्ग्रेस र लोकतान्त्रिक मूल्यका दृष्टिले राजनीति भनेको फरक–फरक विचार, धारणा र दृष्टिकोणबीचको स्वस्थ बहस हो। तर आजको व्यवहार हेर्दा असहमति शत्रुतामा रूपान्तरित हुँदै गएको देखिन्छ। फरक मत राख्नेहरूलाई स्वीकार्न नसक्ने, आलोचनालाई विश्वासघात ठान्ने र आफ्नै विचारलाई अन्तिम सत्य ठान्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाएको छ।
राजनीतिमा असहमति व्यक्त गर्नु अपराध होइन, बरु लोकतन्त्रको अनिवार्य तत्व हो। तर आज असहमति राख्ने कार्यकर्तामाथि अपमानजनक व्यवहार हुने, संगठनभित्रै दबाउने र हतोत्साहित गर्ने अभ्यास मौलाउँदै गएको छ। यस्तो प्रवृत्तिले न त सुदृढ संगठन निर्माण गर्छ, न त दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्छ। उल्टै यसले निराशा, विद्रोह र राजनीतिक पलायन जन्माउँछ।
राजनीतिमा आत्मसम्मानको विषय अत्यन्त संवेदनशील हुन्छ। साधारण कार्यकर्तादेखि शीर्ष नेतृत्वसम्म, सबैको आत्मसम्मान बराबर महत्त्वपूर्ण हुन्छ। राजनीतिक अनुशासनको नाममा व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउने संस्कारले संस्थागत अनुशासन निर्माण गर्न सक्दैन। नागरिक र कार्यकर्ताले सम्मानको अनुभूति गरे मात्र उनीहरू लोकतन्त्र र राष्ट्रप्रति प्रतिबद्ध रहन सक्छन्।
यसैगरी, सिनियर नेताहरू प्रतिको व्यवहार पनि आजको नेपाली राजनीतिमा ठूलो चुनौती बनेको छ। अनुभव, त्याग र योगदानको कदर नगर्ने प्रवृत्ति राजनीतिक संस्कारको गम्भीर पतनको संकेत हो। काङ्ग्रेस र लोकतान्त्रिक मूल्यअनुसार सिनियर–जुनियरबीच मर्यादित सम्बन्ध, अनुभवको सम्मान र निरन्तर संवादको संस्कृति आवश्यक हुन्छ। नेतृत्व परिवर्तन लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो, तर त्यसको नाममा अपमान, अवहेलना र मर्यादा उल्लङ्घन स्वीकार्य हुँदैन।
अनुशासनहीन राजनीतिले अन्ततः देशलाई अस्थिरतामा धकेल्छ। कानुन कमजोर बन्छ, नीति व्यक्तिनिर्भर हुन्छ र राज्य संयन्त्र सीमित शक्तिशाली समूहको स्वार्थ पूरा गर्ने साधनमा रूपान्तरित हुन्छ। यस्तो अवस्थामा लोकतन्त्र औपचारिकतामा सीमित हुन्छ, जनतामा विश्वासको संकट गहिरिन्छ र देश निरन्तर संक्रमणको दलदलमा फँसिरहन्छ।
आजको नेपालले भोगिरहेको दुर्दशाबाट मुक्त हुन तीन आधारभूत कुरामा गम्भीर ध्यान दिन आवश्यक छ—पहिलो, व्यक्ति र संस्थागत तहमा कडा अनुशासनको पालना; दोस्रो, फरक मत, विचार र अस्तित्वलाई स्वीकार्ने सहिष्णुता र सम्मान; र तेस्रो, सिनियर–जुनियरबीच मर्यादित सम्बन्धसहित नेतृत्व र अनुभवको सम्मान।
अनुशासित, सहिष्णु र मर्यादित राजनीति बिना सुदृढ लोकतन्त्र र समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन। आजको नेपाललाई स्पष्ट दिशाबोध दिनु छ भने काङ्ग्रेस र लोकतान्त्रिक मूल्यअनुसार राजनीतिमा अनुशासन, सम्मान र सहिष्णुता पुनःस्थापित गर्नु अपरिहार्य छ। अन्यथा, देशले भोगिरहेको दुर्दशा अझ गहिरिँदै जाने निश्चित छ।

Comment