काठमाडौँ । अनलाइनमा एआई निर्मित सामाग्री तीब्र वृद्धिको एउटा ठूलो असर सामाजिक सञ्जालमा हुने सेयरिङ गतिविधिमा परेको छ। फोटो, भिडिओको आधिकारिकतामा प्रश्न उठ्न थालेपछि मानिसहरू सजग भएका छन्। अनलाइनमा देखिने सामग्रीलाई शंकाको दृष्टिले हेर्न थालेका छन्।
यो समस्याको समाधान अब गुगल ‘जेमिनाई’ले ल्याएको छ। ‘भिडिओ अपलोड गर्नुहोस् र जेमिनाईलाई सोध्नुहोस्, ‘के यो गुगल एआई प्रयोग गरेर बनाइएको हो?’ जेमिनाईले भिडिओको अडियो र भिजुअल दुवै ट्रयाकमा लुकेको ‘सिन्थ–आईडी’ वाटरमार्क स्क्यान गर्नेछ र आफ्नो ‘लजिक’ प्रयोग गरी कुन खण्डमा एआई सामग्री छ भन्ने सन्दर्भसहितको जवाफ दिनेछ।
सिन्थ–आईडी के हो?
गुगलको ‘सिन्थ–आईडी’ प्रविधिले गुगलका एआई उपकरणहरूबाट सिर्जना गरिएका तस्बिर, अडियो, टेक्स्ट र भिडिओहरूमा नदेखिने डिजिटल वाटरमार्कहरू राख्छ। गुगलले यो काम गर्ने एउटै ‘स्टान्डर्ड’ बनाउन प्रयास गरिरहेछ र यसका लागि अर्को टेक्नोलोजी कम्पनी एनभिडियासँग साझेदारी समेत गरेको छ। यद्यपि, हाल यो प्रविधि गुगलका आफ्नै एआईमा मात्र सीमित छ र व्यापक रूपमा प्रचलनमा आइसकेको छैन।
मिडजर्नी, ओपनएआई र मेटाजस्ता अन्य एआई प्लेटफर्महरूले पनि ‘सिन्थ–आईडी’ जस्तै तस्विर, भिडिओमा वाटरमार्क राख्न कोसिस गरिरहेका छन्। उनीहरूले गुगलले जस्तो शक्तिशालीभन्दा ‘सी–टु–पी–ए’ जस्ता वैकल्पिक मापदण्ड बनाइरहेका छन्। ती मापदण्डले पनि यस्तै उद्देश्य पूरा गर्ने लक्ष्य लिएका छन्। भविष्यमा यो एक विश्वव्यापी एआई पहिचान उपकरण बन्न सक्छ। सिन्थ–आईडी पनि एआई प्रयोगको ट्रयाक राख्ने अर्को प्रभावकारी माध्यम हो, जसले एआई चित्रणमा थप पारदर्शिता ल्याउन सक्छ।
तपाईं जेमिनाईमा तस्बिरहरू राखेर तिनको आधिकारिकता प्रमाणीकरण गर्न सक्नुहुन्छ। अनलाइनमा देखिने सामग्रीप्रति मानिसहरूको अविश्वास बढ्दै जाँदा, यसले प्रयोगकर्तालाई थप सुनिश्चितता र प्रमाणीकरण प्रदान गर्नेछ। एआई डिस्क्लोजरका लागि यो एउटा निकै ठूलो फड्को हो। गुगलको यो सिन्थ–आईडी पहिचान सुविधा जेमिनाईमा १०० एमबीसम्मको फाइल र ९० सेकेन्डसम्मको भिडिओका लागि मात्र उपलब्ध हुनेछ।
यो अपडेट २०२५ डिसेम्बरको अन्त्यतिर भएको हो। गुगलले यस्ता अपडेटहरु प्रायः ‘सर्भर साइड’ हुन्छन्। यो सुविधा जेमिनाई एप सपोर्ट गर्ने सबै भाषा र देशहरुमा उपलब्ध भइसकेको छ। नेपालका एन्ड्रोइड वा आईओएस प्रयोगकर्ताले आफ्नो जेमिनाई एप अपडेट गरी यो फिचर प्रयोग गर्न सक्छन्।

Comment