काठमाडौँ । भन्सार विभागले देशभरका सबै भन्सार कार्यालयमा अनलाइन भन्सार मूल्यांकन डाटाबेस प्रणाली लागू गरेको छ। अन्तर्राष्ट्रिय व्यापारलाई सहज, पारदर्शी र लागत–प्रभावी बनाउने उद्देश्यसहित विभागले गत शुक्रबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।
नयाँ प्रणाली लागू भएसँगै २७ वर्षदेखि प्रयोग हुँदै आएको भन्सार मूल्यांकनको सन्दर्भ पुस्तिका प्रणालीको अन्त्य भएको छ। अब भन्सार मूल्यांकन सन्दर्भ मूल्य होइन, वास्तविक कारोबार मूल्यका आधारमा हुने व्यवस्था गरिएको छ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार प्रणालीले कारोबार मूल्यलाई मान्यता दिने, वैज्ञानिक डाटाबेस निर्माण गर्ने, प्रक्रिया सरलीकरण गर्ने र पारदर्शिता अभिवृद्धि गर्ने विशेषता बोकेको छ। नेपालमा वि.सं. २०५५ सालदेखि सन्दर्भ मूल्यांकन प्रणाली लागू भए पनि वि.सं. २०६४ को ऐनमा व्यवस्था हुँदाहुँदै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन।
नयाँ व्यवस्थाअनुसार व्यवसायीले जति मूल्यमा सामान खरिद गरेको हो, सोही मूल्यलाई भन्सार प्रयोजनका लागि स्वीकार गरिनेछ। यसले इमानदार व्यापार प्रवर्द्धन गर्ने विश्वास विभागले लिएको छ।
‘अहिलेसम्म सन्दर्भ मूल्य र वास्तविक कारोबार मूल्यबीचको अन्तरका कारण नक्कली बिल÷बिजक बनाउने बाध्यता थियो,’ बर्तौलाले भने, ‘नयाँ प्रणालीले यस्तो बाध्यताको अन्त्य गर्नेछ।’
उनका अनुसार उत्पादनमुखी अर्थतन्त्र निर्माणको लक्ष्यसहित भन्सार सुधारको नयाँ चरणको रणनीति तर्जुमा गर्ने कामसमेत सुरु गरिएको छ। भन्सार प्रशासनमा आएको यो परिवर्तनले राजस्व संकलनमा पारदर्शिता र व्यापार सहजीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हाल लागू गरिएको अनलाइन भन्सार मूल्यांकन डाटाबेस प्रणाली विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को ग्याट (GATT) मूल्यांकन प्रणालीमा आधारित रहेको विभागले जनाएको छ। प्रणालीमा विश्व बजार मूल्य र अघिल्ला कारोबारहरूको विवरण सुरक्षित रहने भएकाले भन्सार छली नियन्त्रण गर्न सहज हुने बर्तौलाको भनाइ छ।
यदि कुनै व्यवसायीले वस्तुको मूल्य अस्वाभाविक रूपमा कम देखाएमा प्रणालीमा उपलब्ध डाटाबेससँग तुलना गरी वास्तविक मूल्य पहिचान गर्न सहज हुनेछ। सबै प्रक्रिया अनलाइन हुने भएकाले भन्सार जाँचपासमा हुने ढिलासुस्ती पनि कम हुने विभागले जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालका अनुसार सन्दर्भ पुस्तिका प्रणालीका कारण इमानदार व्यवसायीले पनि वास्तविक बिल देखाउँदा बढी कर तिर्नुपर्ने अवस्था थियो, जसले व्यापारिक लागत बढाएको थियो।
‘अब कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकन लागू हुँदा व्यापारीहरूलाई ठूलो राहत मिल्नेछ,’ उनले भने।
उनका अनुसार विगतमा हरेक ६ महिनामा अद्यावधिक हुने सन्दर्भ पुस्तिकाका आधारमा वस्तुको मूल्य तोकिन्थ्यो। नयाँ प्रणालीमा भने अनलाइन भ्यालुएसन सफ्टवेयर र डाटाबेसमार्फत वास्तविक कारोबार मूल्यलाई नै मान्यता दिइनेछ।
अग्रवालले सन्दर्भ पुस्तिका प्रणालीमा वास्तविक मूल्य र पुस्तिकाको मूल्य फरक हुँदा हुन्डीमार्फत पुँजी पलायन वा न्यून मूल्यांकन गरी राजस्व छली हुने जोखिम रहेको उल्लेख गरे।
डाटाबेस प्रणालीमा जाँचपास भएका सबै वस्तुको डिजिटल विवरण सुरक्षित रहने भएकाले मूल्य विश्लेषण र तुलना थप प्रभावकारी हुने उनको भनाइ छ।

Comment