काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशव्यापी रूपमा १९ वटा सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित ग्लोबल आइएमई बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वार्षिकोत्सवलाई समाजसेवासँग जोड्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । बैंकका अनुसार यी कार्यक्रमहरू दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी सातै प्रदेशमा सञ्चालन गरिनेछ ।
गत वर्ष १८औँ वार्षिकोत्सवमा बैंकले १८ हजार बिरुवा रोपण गर्ने घोषणा गर्दै स्थानीय तह तथा संघ–संस्थाको सहकार्यमा करिब २१ हजार बिरुवा रोपण गरेको थियो ।
१९औँ वार्षिकोत्सवका प्रमुख कार्यक्रमहरूमध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ महत्वपूर्ण रहेको बैंकले जनाएको छ । यसअन्तर्गत सातै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण गरिनेछ । प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाको दोस्रो चरणमा शल्यक्रिया उपचारसमेत गरिने बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन् ।
त्यसैगरी बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नेछ । साथै सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० गरिब तथा न्यून आय भएका विद्यार्थीको आँखा जाँच गरी आवश्यक चस्मा निःशुल्क वितरण गरिनेछ ।
स्वास्थ्य क्षेत्रअन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै जटिल तथा दीर्घ रोगका बिरामीलाई स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोग प्रदान गरिनेछ ।
शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रा लाभान्वित भइसकेको यस कार्यक्रममा यस वर्ष थप ७७ छात्रा समेटिनेछन् । दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १,००० विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण पनि कार्यक्रमभित्र समावेश छन् । साथै अर्थशास्त्र, व्यवस्थापन र कानुन संकायमा उच्च शिक्षा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी अनुसन्धानका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापनसम्बन्धी तालिमसमेत सञ्चालन गरिनेछ ।
यसका अतिरिक्त रक्तदान कार्यक्रम, आश्रम तथा बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग, अटिजमसम्बन्धी चेतनामूलक कार्यक्रम, खेलकुद सामग्री वितरण तथा उद्यमशाला कार्यक्रममार्फत सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका ३५२ वटै शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी न्यूनीकरण तथा बैंकिङ प्रणालीमा जनसंख्या समावेशीकरणमा जोड दिइनेछ ।
ग्लोबल आइएमई बैंक बैंक अफ द इयर २०१४, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ लगायत प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमई बैंकले ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुक तथा भारतलगायत देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ ।
बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बैंकिङ क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको विश्वास लिएको छ ।

Comment