काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले पुस २५ देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पुस २५ देखि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपसारी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दहरुका लागि सो सेयर निष्काशन गर्न लागेको हो ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजाररुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ ९ गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
उद्योग प्रभावित क्षेत्र तथा खानी प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

Comment