काठमाडौं । सन् २०२५ मा नेपालमा साढे ११ लाख विदेशी पर्यटकको आगमन भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि डिसेम्बरसम्मका १२ महिनामा कुल ११ लाख ५८ हजार ४५९ जना विदेशी पर्यटकले नेपालमा भ्रमण गरेका छन्।
जुन अघिल्लो वर्ष २०२४ को तुलनामा अधिक हो। यस वर्षको विदेशी पर्यटनको आगमन कोभिड–१९ को महामारीअघिको तुलनामा ९७ प्रतिशतसम्म पुगेको पर्यटन बोर्डले जनाएको छ।
नेपाली विमानस्थल प्रयोग गरेर आउने ती पर्यटकहरूको आँकडामा सबैभन्दा बढी दुई लाख ९२ हजार ४३८ जना भारतीय छन्। कुल विदेशी पर्यटकको भ्रमणमा यो हिस्सा २५ प्रतिशतभन्दा बढी हुन आउँछ।
त्यसपछि दोस्रोमा एक लाख १२ हजार ३१६ जना अमेरिकी नागरिक नेपालमा पर्यटकका रूपमा आएका छन्। तेस्रोमा ९५ हजार ४८० जना चिनियाँ, चौथोमा ५८ हजार ६८४ जना बेलायती, पाँचौँमा ५७ हजार ५४५ जना बाङ्लादेशी नागरिक पर्यटकका रूपमा नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ।
क्षेत्रगत रूपमा दक्षिण एसियाबाट ३५ प्रतिशत विदेशी पर्यटक नेपाल भित्रिँदा एसियाका अन्य देशबाट २१ प्रतिशत, युरोपबाट १९ प्रतिशत, अमेरिकी क्षेत्रबाट १२ प्रतिशत, मध्य पूर्वबाट २ प्रतिशत विदेशीले नेपाल भ्रमण गरेका छन्।
विदेशी पर्यटनको आगमनबाट एक वर्षमा नेपालले २७ अर्ब १५ करोड २५ लाख ५० हजार नेपाली रुपैयाँ आम्दानी भएको पनि बोर्डले जनाएको छ।
यस्तै एक वर्षको अवधिमा पर्यटन क्षेत्रका ४७६ परियोजनाका लागि ३० अर्ब २६ करोड ३० लाख विदेशी लगानी(एफडिआई) नेपालमा आएको पनि बोर्डको तथ्यांक छ।


Comment