काठमाडौं । आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रूपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवालाई शुक्रबार (१८ पुस)देखि नै लागू हुने गरी इन्धनको शुल्क घटाउन निर्देशन दिएको छ । प्राधिकरणको निर्देशनपछि इन्धनको शुल्क घट्दा यात्रुले हवाई भाडासँगै तिर्ने टिकेटको मूल्य पनि सस्तो पर्ने भएको छ ।
इन्धनको मूल्य घटेका कारण काठमाडौं विमानस्थल केन्द्रित भएर हुने उडान अवतरणमा सबैभन्दा बढी धनगढीको भाडा घटेको छ । यो गन्तव्यमा २६५ रुपैयाँले भाडा घटेको छ ।
हाल ५९ सय २० रुपैयाँ काठमाडौं धनगढी गन्तव्यको हवाई इन्धनको शुल्क रहेकोमा अब ५६ सय ५५ रुपैयाँ हुने भएको छ । यो शुल्कसँगै यो गन्तव्यको भाडामा २६५ ले सस्तिएको हो ।
काठमाडौंबाट हुने उडान अर्थात ट्रङ्क रुटको हवाई भाडामा माउन्टेन २१०, भन्द्रपुर १८०, विराटनगर १४०, जनकपुर ७५, भरतपुर ६५, पोखरा ९५ र भैरहवाको १२५ रुपैयाँले इन्धनको शुल्क घटेको छ । यस्तै नेपालगन्ज १९५, तुम्लिङटार ११०, सिमरा ५५, सुर्खेत २१० र राजविराजको १२५ रुपैयाँले इन्धको शुल्क घटेको हो ।



Comment