काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले जेनजी प्रदर्शनका कारण ठूलो मात्रामा नेपाली पुँजी पलायन भइरहेको बताएका छन्।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै महतले जेनजी आन्दोलनले लगानी वातावरणमा गम्भीर नकारात्मक असर पारेको उल्लेख गरे।
उनले भने, “जेनजी आन्दोलनले हाम्रो लगानीको मानसिकता समाप्त गरेको छ। विदेशी लगानी भित्र्याउने कुरा त परै जाओस्, अहिले नेपालभित्रकै पुँजी ठूलो मात्रामा विदेश पलायन भइरहेको छ। यो अवस्था सुधार गर्न नसकेमा देशको अर्थतन्त्र गम्भीर समस्यामा पर्न सक्छ।”
महतले परिवर्तनको शैली र प्रक्रियामाथि पुनर्विचार गर्न आवश्यक रहेको पनि बताए।
प्रदर्शनका नाममा भएका आगजनी र लुटपाटका घटनाले निजी क्षेत्र मात्र होइन, समग्र समाजलाई असर पारेको उनको भनाइ थियो। “यो निजी क्षेत्रको मात्रै सवाल होइन, आम जनतासँग जोडिएको विषय हो,” उनले भने, “कानूनी शासनलाई सरकारमा बस्ने र सरकारबाहिर बस्ने सबैले मान्ने कि नमान्ने भन्ने विषय गम्भीर रूपमा महसुस गर्न जरुरी छ।”
महतका अनुसार जेनजी प्रदर्शनले भौतिकभन्दा बढी मनोवैज्ञानिक रूपमा गहिरो क्षति पुर्याएको छ, जसको असर दीर्घकालसम्म अर्थतन्त्रमा देखिन सक्ने उनले चेतावनी दिए।

Comment