ललितपुर। सडकछेउ टेन्ट, हातमा माइक, वरिपरि जनता—यो दृश्य औपचारिक चुनावी सभाको होइन, जनता माझ बसेर आफ्नो कुरा राख्ने नयाँ शैली हो। धरानका मेयर हर्क साङपाङले अपनाएको ‘एक्लो तर जनमुखी’ शैलीलाई पछ्याउँदै, ललितपुरका समाजसेवी सनोज महतले पनि घरदैलो राजनीति सुरु गरेका छन्।
साउथ ललितपुरका विभिन्न बस्ती, विद्यालय र सार्वजनिक स्थानमा महत बस्ती–बस्ती पुग्दै जनता सुन्दै, प्रश्न उठाउँदै अभियानमा छन्। उनी हरेक वडामा टेन्ट हालेर बस्ने योजना सुनाउँछन् र स्थानीय समस्या प्रत्यक्ष देख्न चाहन्छन्।
उनको केन्द्रविन्दु बनेको छ—सामुदायिक विद्यालयमा अनियमितता, बजेट प्रयोग र पारदर्शिताको अवस्था। उनले वडामा भेटिएका भ्रष्टाचार र व्यवस्थागत कमजोरीलाई उजागर गर्दै “जनताको अधिकारको सवाल” रहेको बताएका छन्।
सनोज महत आफैँलाई कुनै दलको नेता मान्दैनन्। उनी विगतमा माओवादी भातृ संगठनमा सक्रिय थिए, जेल जीवन भोगे र पछि विभिन्न राजनीतिक अनुभव हासिल गरे। अहिले उनी स्वतन्त्र राजनीतिमा जनता माझ बसेर संवाद र प्रश्न गर्ने शैली अपनाएका छन्।
धरानका हर्क साङपाङले देखाएको बाटो ललितपुरमा पनि प्रभाव छोड्न सक्छ कि सक्दैन? यसको उत्तर अब जनता नै दिनेछन्।

Comment