‘एमसीए नेपाल’अन्तर्गत धनखोला-लमही सडककाे ठेक्का सम्झौता, ४० किलोमिटर खण्ड दुई वर्षमा सम्पन्न गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) ले पूर्व-पश्चिम राजमार्गको धनखोला-लमही खण्ड स्तरोन्नति आयोजना अगाडि बढाएको छ।

दाङ र अर्घाखाँची जिल्लालाई समेट्ने ४० किलोमिटर लामो उक्त सडक खण्ड स्तरोन्नतिका लागि २२ डिसेम्बर २०२५ मा ठेक्का सम्झौता भएको हो।

एमसीए-नेपालको सडक मर्मत तथा स्तरोन्नति परियोजनाअन्तर्गत सञ्चालन हुने यो आयोजनाको निर्माण अवधि २४ महिना तोकिएको छ।

धनखोला देखि लमहीसम्मको पूर्व-पश्चिम राजमार्ग खण्डमा सडकको संरचनात्मक सुधार तथा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना कार्यान्वयनमा जान लागेको हो।

आयोजनाको ठेक्का शर्मा-कुमार ज्वाइन्ट भेन्चरले प्राप्त गरेको छ। यस आयोजनामा नेपालमै पहिलोपटक सडक स्तरोन्नतिमा फुल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि र सुपरपेव मोर क्लाइमेट रेजिलियन्ट पेभमेन्ट प्रविधिको प्रयोग गरिने एमसीए-नेपालले जनाएको छ। यी प्रविधिले विद्यमान सडक संरचनालाई पुनःप्रयोग गर्दै वातावरणमैत्री तथा दिगो सडक निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

एमसीए-नेपालका अनुसार आयोजनाबाट निर्माण लागत किफायती हुने, व्यापार तथा सवारी सञ्चालन लागत घट्ने, आधुनिक प्रविधिको हस्तान्तरण हुने, सडक सुरक्षा बढ्ने र यात्राको समय घट्ने लाभ प्राप्त हुनेछन्। साथै सडकको सवारी गुणस्तर (राइडिङ क्वालिटी) सुधार हुनुका साथै वातावरणीय दृष्टिले पनि दिगो प्रविधिको प्रयोग हुने जनाइएको छ।

पूर्व-पश्चिम राजमार्ग नेपालको प्रमुख आर्थिक र यातायातिक मेरुदण्ड भएकाले धनखोला-लमही खण्डको स्तरोन्नतिले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

एमसीए-नेपालले ‘रोड्स एन्ड इलेक्ट्रिसिटी, वे टु प्रोसपेरिटी’ भन्ने नाराअन्तर्गत सडक र विद्युत् पूर्वाधारमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ परियोजना कार्यान्वयन गरिरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।