काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
देउवालाई भेट्न ओली र एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेल देउवा निवास महाराजगन्ज पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक अवस्था, एमाले महाधिवेशनपछिको परिस्थिति तथा आगामी निर्वाचनका विषयमा छलफल भएको बताइएको छ।
दुवै नेताबीच मुलुकको राजनीतिक निकास, निर्वाचनको वातावरण र संसद् पुनर्स्थापनासम्बन्धी विषयमा पनि संवाद भएको स्रोतले जनाएको छ। कांग्रेस र एमाले दुवैले हालको सरकारले निर्वाचनको वातावरण नबनाएको दाबी गर्दै अनुकूल माहौल बने निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन्।
यद्यपि, दुवै दलले विघटित प्रतिनिधि सभा पुनःस्थापना गरी बन्ने सरकारले मात्र निष्पक्ष निर्वाचन गराउन सक्ने अडान लिँदै आएका छन्। सोही मागसहित कांग्रेस र एमालेले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिसकेका छन्।

Comment