रिलायन्स मिल्सको आइपीओ खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वसाधारण लगानीकर्ताहरुका लागि खुलेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओ ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’भएको छ ।

सोमबार कार्यालय समयदेखि (१० बजे ) खुलेको आइपीओ ४० मिनेटमै ओभरसब्सक्राइब भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेकोमा ४० मिनेटमै २१ हजार ९५३ आवेदकले ११ लाख ५६ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

रिलायन्स स्पिनिङ मिल्स २०५१ सालमा दर्ता भै २०५४ सालदेखि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो धागो उत्पादन गर्ने कम्पनी हो। कम्पनीसँग दुई कारखाना छन्- युनिट ए खनार र युनिट बी दुहबी, सुनसरीमा।

रिलायन्स स्पिनिङ मिल्समा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्, जसमा १३ सय महिला छन्। कम्पनीले गरेको दाबी अनुसार रिलान्यस नेपालकै सबैभन्दा ठूलो रोजगारदाता कम्पनीमध्येक एक हो ।

रिलायन्स स्पिनिङ मिल्स नेपालकै सबैभन्दा ठूलो निर्यातकर्ता पनि हो, जसले वार्षिक रूपमा ५० मिलियन अमेरिकी डलरभन्दा बढीको निर्यात गर्छ।

कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।