काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्ने बताएका छन्।
काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै पनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने बताए।
सो अवसरमा महामन्त्री थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरेका छन्।
उनले नागरिकमा भएको असन्तुष्टि र रिसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेनजीको मर्म र भावनाअनुसार दलहरू सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।
फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने उनको भनाइ थियो। उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्ने जिकिर गरेका छन्।

Comment