काठमाडौँ । मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
पुस महिनाका लागि प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। त्यसैगरी, प्रभु बैंक र कृषि विकास बैंकले समान ०.४ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकले ०.३८ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
यता, ७ वटा वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक तथा हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा कुनै परिवर्तन नगरेका हुन्।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन्। यी दुवै बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। सबैभन्दा कम ब्याजदर भने प्राइम कमर्सियल बैंकले तोकेको छ, जसले पुस महिनामा अधिकतम ४.२५ प्रतिशत ब्याज दिने जनाएको छ।
यसैबीच, व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरूको अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। २० वटा वाणिज्य बैंकमध्ये १३ बैंकले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औसत ब्याजदर ५ प्रतिशत बिन्दुभन्दा तल झरेको हो।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ। मंसिर महिनामा यस्तो निक्षेपको अधिकतम औसत ब्याजदर ५.०४०५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.२०६५ प्रतिशत बिन्दुले घटेको छ।
संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घट्यो
व्यक्तिगत मुद्दति निक्षेपसँगै वाणिज्य बैंकहरूको संस्थागत मुद्दति निक्षेपको ब्याजदरसमेत घटेको छ। मंसिर महिनाको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.१३ प्रतिशत बिन्दुले घटेको छ।
पुस महिनाका लागि ५ वटा वाणिज्य बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी बैंकहरूले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

Comment