हस्तकला क्षेत्रले अर्थतन्त्र चलायमान बनाएको छ : मन्त्री सिन्हा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले हस्तकला क्षेत्रले देशको पहिचान जोगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउँदै आएको बताउनुभएको छ।

नेपाल हस्तकला महासंघको ५३औँ वार्षिकोत्सव तथा १४औँ हस्तकला दिवसको अवसरमा आइतबार पाटन संग्रहालय, मंगलबजारमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री सिन्हाले हस्तकला क्षेत्र नेपालको कला, संस्कृति र सीपको जगेर्ना गर्ने महत्वपूर्ण संवाहकका रूपमा रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपालको प्रत्येक कुनाकाप्चामा हस्तकला उद्योगले रोजगारी सिर्जना गरिरहेको छ। हस्तकलाको प्रवर्द्धनमा महासंघले खेल्दै आएको भूमिका प्रशंसनीय छ। नेपाल सरकारले हस्तकला क्षेत्रका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत व्यवस्थालाई अझ प्रभावकारी बनाउनेछ।”

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले हस्तकला क्षेत्रले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान दिएको बताउँदै बागमती प्रदेश सरकार हस्तकला क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले प्रदेशका १३ वटै जिल्लाका हस्तकला उद्यमीले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धनका लागि प्रभावकारी कदम चालिने जानकारी दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले हस्तकला दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले नेपाल विदेशी हस्तकलाको बजार बन्दै गएको उल्लेख गर्दै स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो।

नेपाल हस्तकला महासंघका अध्यक्ष रबिन्द्र शाक्यले हस्तकला उद्योगले रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनमा उल्लेखनीय योगदान दिइरहेको बताउनुभयो। उहाँले हस्तकलासँग सम्बन्धित ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरी जीवन्त कायम राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उत्कृष्ट तीन निर्यातकर्ता, गैर–निर्यातकर्ता, उद्यमी तथा कलाकारलाई सम्मान गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।