काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) तथा बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको आईपीओको प्रि–अलटमेन्ट सम्पन्न भइसकेपछि कम्पनीले अब सर्वसाधारणतर्फ सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमध्ये ५७ हजार ७९८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख २ हजार ७६८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ। सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बुक बिल्डिङ प्रणालीअनुसार सर्वसाधारणले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ।
बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल प्रणालीमार्फत बाँडफाँट गरिएको थियो। उक्त प्रक्रियामा कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएको थियो। यसमा १० प्रतिशत छुट प्रदान गरेपछि सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा मूल्य निर्धारण गरिएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ। तोकिएको अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म थपिनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट, साथै सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा रहेको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।
शेयर निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै सुरक्षित रूपमा पूरा गर्न पर्याप्त क्षमता रहेको संकेत गर्दछ।
रिलायन्स स्पिनिङ मिल्स नेपालका धागो उत्पादन गर्ने उद्योगहरूमध्ये एक ठूलो रोजगारी प्रदान गर्ने उद्योगका रूपमा परिचित छ। कम्पनीले उत्पादन गर्ने धागोमध्ये ७० देखि ७५ प्रतिशतभन्दा बढी भारत, टर्की, भियतनाम, युकेलगायत विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ।
कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण तथा प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। कम्पनीको मुख्य उद्योग इटहरी उपमहानगरपालिका–१२, खनार (सुनसरी) मा अवस्थित छ भने शाखा उद्योग इटहरी उपमहानगरपालिका–४, दुहबीमा सञ्चालनमा रहेको छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता अवधि १०.६१ वर्ष रहेको विवरणमा उल्लेख छ।

Comment