काठमाडौं । प्रतिष्ठित पाँचतारे होटल र्याडिसनको व्यापारमा उल्लेख्य सुधार देखिएको छ। ओरियन्टल होटल लिमिटेडद्वारा सञ्चालित र्याडिसन होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
विदेशी पर्यटकहरूको आगमनमा पछिल्ला महिनाहरूमा देखिएको उल्लेख्य वृद्धिसँगै होटलको व्यापारिक गतिविधि पनि विस्तार भएको रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यसले होटलको समग्र व्यवसायिक अवस्थालाई क्रमिक रूपमा सुदृढ बनाएको संकेत गर्छ।
गत आर्थिक वर्ष (सन् २०२५) मा होटल र्याडिसनले कुल १ अर्ब ७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। यसअघिका वर्षहरूमा पनि होटलले वार्षिक रूपमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ। इक्रा नेपालका अनुसार सन् २०२४ मा १ अर्ब १९ करोड रुपैयाँ र सन् २०२२ मा १ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो।
यद्यपि व्यापारमा सुधार देखिए पनि होटलको अकुपेन्सी दर भने घटेको छ। गत आर्थिक वर्षमा अकुपेन्सी दर ३७ प्रतिशतमा सीमित भएको छ, जुन सन् २०२४ मा ४३ प्रतिशत थियो। यसैगरी प्रतिकोठा औसत मूल्य पनि घटेर ९ हजार ४ सय २२ रुपैयाँमा झरेको छ, जबकि सन् २०२४ मा प्रतिकोठा औसत मूल्य १० हजार ७३ रुपैयाँ रहेको थियो।
सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले होटलले पुनर्निर्माण तथा स्तरोन्नति कार्यलाई प्राथमिकतामा राखेको छ। सन् २०२३ को जुलाईमा ४० वटा कोठाको पुनर्निर्माण सम्पन्न गरिएको थियो भने चालु वर्ष थप ६० वटा कोठा पुनर्निर्माणको चरणमा रहेका छन्।
होटलले सेवा विस्तारतर्फ पनि महत्वपूर्ण कदम चालेको छ। ३० वटा अपार्टमेन्टको निर्माण कार्य सम्पन्न गरी गत जुलाईदेखि सञ्चालनमा ल्याइएको छ। सशक्त व्यापारिक अवस्था र योजनाबद्ध विकास रणनीतिसँगै होटल र्याडिसन आगामी वर्षहरूमा थप वृद्धि र नयाँ सेवा विस्तारको योजनामा अघि बढिरहेको जनाएको छ।
२६० वटा कोठा र १.६ हेक्टर क्षेत्रफलमा फैलिएको यस होटलले अझ बढी स्वदेशी तथा विदेशी यात्रु आकर्षित गर्ने लक्ष्य लिएको छ। यसैबीच, इक्रा नेपालबाट कम्पनीले कुल १ अर्ब ८० करोड ६० लाख रुपैयाँको कर्जा रेटिङ प्राप्त गरेको छ। यसमा १ अर्ब ५५ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र २५ करोड २० लाख रुपैयाँ अल्पकालीन कर्जा समावेश छन्।

Comment