जनचाहना अनुसार विकासका काममा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री बानियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देश जनताको चाहनानुसार गाउँबस्तीको विकास निर्माणमा प्रदेश सरकार सक्रिय रहेको बताएका छन्।

नुवाकोटको बेलकोटगढी–१३ स्थित ढाडेफेदीमा आज पक्की पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा उनले ठूला योजना कार्यान्वयनसहित प्रदेश सरकारले काम गरिरहेको बताए। मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको चाहनानुरूप पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा र रोजगार सिर्जनाका काममा केन्द्रित रहेको बताए।

उनले भने, “केन्द्र सरकारले नीति निर्माणका काम गर्नुपर्छ। प्रदेश तथा स्थानीय सरकारले जनताको नजिक रहेर जनचाहनानुरूप विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता छ। गरिब र पिछडिएका समुदायलाई प्राविधिक निःशुल्क शिक्षा दिएर स्वदेशमै रोजगार दिने लक्ष्य पूरा गर्न प्रतिबद्ध छौँ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको बदलिँदो राजनीतिक परिवेशपश्चात् गाउँको विकास र चेतनास्तर बढे पनि रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै अब त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने मुख्यमन्त्री बानियाँको कथन थियो।

बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ जोड्न ढाडेखोलामा पक्की पुल निर्माण सुरु गरिएको हो। प्रदेश सरकारको रु. चार करोड ९४ लाख बजेटमा निर्माण हुने पुलको समयावधि अठार महिना तोकिएको छ। मुख्यमन्त्री बानियाँले आजै बेलकोटगढी–१३ र लिखु–३ जोड्न सुपारीखोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरे।

प्रदेश सरकारमार्फत रु. आठ करोड ७८ लाखमा निर्माण गरिएको हो। त्यस अवसरमा तोकिएको समयअगावै पुल सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी जयविष्णु निर्माण सेवा प्रालिलाई कदरपत्रसहित सम्मान गरियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।