प्रतिस्पर्धा होइन सहमति आवश्यक : एमाले महाधिवेशनबारे श्याम कुमार बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी दिनमा पार्टीले लिने राजनीतिक दिशा र भूमिकाको स्पष्ट खाका तय गर्ने अपेक्षा गरिएको छ। पार्टीको मुख्य नेतृत्वमा केपी शर्मा ओलीलाई पुनः जिम्मेवारी दिनुपर्ने आवाज पार्टीभित्र बलियो रूपमा उठिरहेको सन्दर्भमा महाधिवेशनको तयारी, भावी नेतृत्व र बौद्धिक व्यक्तिको राजनीतिक भूमिकाबारे नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी संयोजक श्याम कुमार बस्नेतसँग गरिएको कुराकानीमा उनले यसपटकको महाधिवेशन प्रतिस्पर्धाभन्दा पनि सहमति, एकता र स्थायित्वमा केन्द्रित हुनुपर्ने बताएका छन्।

बस्नेतका अनुसार अहिलेको राजनीतिक अवस्थामा पार्टीभित्र अनावश्यक प्रतिस्पर्धा होइन, सबै धार, क्षमता र अनुभवलाई सही तवरले व्यवस्थापन गर्दै साझा लक्ष्यतर्फ अघि बढ्नु जरुरी छ। “देशको अर्थतन्त्र दबाबमा छ, राजनीति अस्थिर छ र सामाजिक संरचनामा पनि गहिरो असन्तुलन देखिएको छ। यस्तो अवस्थामा पार्टीले स्पष्ट नीति, स्थिर नेतृत्व र एकताको सन्देश दिनु आवश्यक छ,” उनले भने। महाधिवेशनले निराशामा रहेका नेपाली जनतालाई आशा जगाउने ऐतिहासिक अवसर बोकेको उनको भनाइ छ।

आगामी केही महिनामै हुन लागेको निर्वाचनमा एमाले देशको ठूलो राजनीतिक शक्ति बन्ने आधार यही महाधिवेशनले तयार गर्ने विश्वास बस्नेतले व्यक्त गरे। देशभरबाट हजारौँ नेता–कार्यकर्ताको सहभागितामा मंसिर २७ गते बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा महाधिवेशनको औपचारिक उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा झण्डा र जुलुससहित उपस्थित हुन उनले सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

नेकपा (एमाले)भित्र बौद्धिक नेताका रूपमा परिचित बस्नेत कानुन, समाजशास्त्र र प्राकृतिक स्रोत विषयमा स्नातकोत्तर गरेका व्यक्ति हुन्। हाल उनी जलस्रोत कानुनमा विद्यावारिधि अध्ययनरत छन्। यसअघि बाग्मती प्रदेश योजना आयोगको सदस्य र उपाध्यक्षका रूपमा काम गरिसकेका बस्नेत नीति निर्माण, योजना र विकासका विषयमा अध्ययन, अनुभव र दृष्टिकोण भएका नेताका रूपमा चिनिन्छन्।

महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा विशेष चासोका साथ हेरिएको उल्लेख गर्दै बस्नेतले यसपटक एमालेमा नेतृत्व चयन प्रतिस्पर्धाभन्दा पनि सहमतिमा केन्द्रित हुनुपर्ने बताए। “महाधिवेशन नेता र नेतृत्व चयन गर्ने महत्वपूर्ण स्थान हो। अहिले पार्टीभित्र सहमतिमा नेतृत्व चयन हुनु समयको आवश्यकता हो,” उनले भने। केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको नेतृत्व चयन हुँदा पार्टी थप एकताबद्ध हुने र देशले स्थायित्व पाउने उनको धारणा छ।

बौद्धिक व्यक्ति किन राजनीतिमा आउनुपर्छ भन्ने प्रश्नमा बस्नेतले आफूले यही आवश्यकता महसुस गरेर महाधिवेशनमा उम्मेदवारी दिने निर्णय गरेको स्पष्ट पारे। “नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र जैविक विविधताले अत्यन्त धनी देश हो। तर सही नीति, योजना र नेतृत्वको अभावमा यी स्रोतको अपेक्षित उपयोग हुन सकेको छैन,” उनले भने, “यही यथार्थलाई आत्मसात् गर्दै बौद्धिक व्यक्ति राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने आवश्यकता मैले महसुस गरेको छु, त्यसैले मैले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको छु।” उनी स्वयमले उम्मेदवारी दिन लागेकाे समेत प्रष्ट पारे ।

बस्नेतका अनुसार पानी, खानी, वन, पर्यटन, जैविक विविधता, कृषि, ऊर्जा र उच्च मूल्यका उत्पादन नेपाल समृद्धिका मुख्य आधार हुन्। यी क्षेत्रको वैज्ञानिक, दिगो र न्यायोचित उपयोग गर्न सके नेपाल आत्मनिर्भर मात्र नभई एसिया र विश्वमै आर्थिक रूपमा सक्षम राष्ट्र बन्न सक्ने सम्भावना रहेको उनले बताए। “समृद्धिका यी आधारलाई व्यवहारमा उतार्न दीर्घकालीन सोच, अध्ययनमा आधारित नीति र राजनीतिक स्थायित्व अनिवार्य छ,” बस्नेतले जोड दिए।

एमाले विकास, समृद्धि र राष्ट्रहितका लागि निरन्तर प्रतिबद्ध दल भएको उल्लेख गर्दै बस्नेतले पार्टीका नेता–कार्यकर्ता सुरक्षा निकाय र आम जनताको मनोबल उच्च बनाउने काममा सक्रिय रहेको बताए।

अन्त्यमा उनले भने, “यो महाधिवेशन पार्टीभित्रको मात्र होइन, समग्र देशलाई एकताको सशक्त सन्देश दिने अवसर हो, एकता, स्थायित्व र सही नेतृत्व नै देशले जित्ने आधार हुनेछ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।