नेपाल–भियतनाम ५० वर्षे सम्बन्ध : व्यवसायीबीच आर्थिक सहकार्य विस्तारमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुई देशका व्यवसायीबीच आर्थिक साझेदारी विस्तारबारे हनोईमा विशेष छलफल भएको छ। बिहीबार भियतनामको राजधानी हनोईमा भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री सँगको भेटमा नेपाली व्यवसायीले पर्यटन, जलविद्युत्, कृषि, हस्तकला तथा निर्यातयोग्य उत्पादनका क्षेत्रमा भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भियतनामको ५० वर्षे मित्रता आर्थिक सहकार्यमा रूपान्तरण गर्ने उत्कृष्ट समय आएको बताए।
“दुई देशबीच आर्थिक सहकार्यको ठूलो सम्भावना छ,” अध्यक्ष ढकालले भने, “नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको वातावरण निरन्तर सुधार हुँदैछ। लगानीमैत्री नीति, लाइसेन्स, भन्सार तथा कर प्रशासनमा सुधार, र विदेशी लगानी संरक्षणमा सरकारको प्रतिबद्धताका कारण भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दैछ।”

उहाँले नेपालका हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना रहेको उल्लेख गर्दै भियतनामी पक्षलाई निर्यातमुखी उद्योगमा सहकार्य बढाउन आग्रह गरे। साथै, भियतनामका कृषि उत्पादन, सी–फूड, इलेक्ट्रोनिक्स जस्ता वस्तुको नेपालमा माग रहेको बताउँदै दुई देशका अर्थतन्त्र एक–आपसमा पूरक बन्न सक्ने औँल्याए।

पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, केबलकार, साहसिक पर्यटन र वेलनेस केन्द्रहरूमा बढ्दो क्षेत्रीय लगानीबारे जानकारी दिँदै अध्यक्ष ढकालले भियतनामी लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए। उनले भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिलाई नेपाल उद्योग वाणिज्य महासंघकाको आगामी वार्षिक साधारणसभामा सहभागी भएर नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्न निमन्त्रणा पनि दिए।

भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले नेपालसँग आर्थिक साझेदारी विस्तार गर्न भियतनामी पक्ष इच्छुक रहेको जनाए।
“दुई देशबीच अहिले व्यापार र लगानीको सहकार्य अत्यन्त न्यून छ, तर सम्भावना ठूलो छ,” भिनले भने, “आगामी दिनमा व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै लैजानेछौँ।”

थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको विशाल सम्भावना रहेको उल्लेख गर्दै भियतनामी व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे।
दुवै देशले ५० वर्षे कूटनीतिक सम्बन्धको पृष्ठभूमिमा व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा उपलब्ध अवसरको अधिकतम सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए। विश्व अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले क्षेत्रीय सहकार्यले पारस्परिक लाभ बनाउन सकिने पनि उनकाे भनाइ थियो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकाका पदाधिकारी, कार्यसमिति सदस्य तथा भियतनामी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।