राजेशको ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ। नेपालबाट आफ्नो उज्वल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका छन्।

प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए। उनकै कथा तथा पटकथामा तयार भएकाे हाे।

उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ। हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रूपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ। त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ।’

उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए। फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन्।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन्। अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेको छ।

‘डाइनिङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिचर तथा छोटा फिल्म निर्माण गरेका रविन आचार्य निर्माता रहेको उक्त फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो। निर्माता आचार्यले अभिनेता हमाल फिल्मसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रूपमा प्रस्ट्याए।

यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।