काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अहिले रोमाञ्चक मोडमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी प्रतियोगिताको ‘एलिमिनेटर’ खेलमा सानदार प्रदर्शन गर्दै लुम्बिनी लायन्सले उपाधि यात्रालाई कायमै राखेको छ।
बुधबार सम्पन्न ‘गर या मर’ को निर्णायक खेलमा राजधानीको टोली काठमाडौं गुर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले क्वालिफायर–२ मा आफ्नो स्थान पक्का गरेको हो।
यस जितसँगै लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि अब एक खुड्किलो मात्र टाढा छ।
प्रतियोगिताको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको अवस्थामा अब लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको काठमाडौं गुर्खाज भने यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
बुधबारको खेलमा लुम्बिनी लायन्सले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाजलाई लुम्बिनीका बलरहरूले सुरुदेखि नै दबाबमा राखेका थिए।
लुम्बिनीको कसिलो बलिङ आक्रमणसामु काठमाडौंका ब्याटरहरू खुलेर खेल्न सकेनन् र टोली सस्तैमा समेटिन पुग्यो।
काठमाडौंले निर्धारित २० ओभर पनि पूरै खेल्न नसकी कमजोर योगफल खडा गर्यो। जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनीले उक्त लक्ष्य ६ विकेट गुमाएर पूरा गर्दै ४ विकेटको जित हासिल गर्यो। यो जितसँगै एनपिएलको इतिहासमा पहिलो पटक प्लेअफमा पुगेको लुम्बिनी लायन्स काठमाडौंभन्दा भाग्यमानी साबित भयो।
काठमाडौंको हारको मुख्य कारण पावरप्लेमा गुमेका विकेटहरू नै रहे। काठमाडौंका प्रशिक्षक मोन्टी देसाईले खेलपछि प्रतिक्रिया दिँदै पावरप्लेमा विकेट गुमाउँदा ठूलो स्कोर खडा गर्न नसकिएको र त्यसैले पराजय भोग्नुपरेको स्वीकार गरे।
उनले भने, ‘हामीले खेलको सुरुवात तिर नै महत्वपूर्ण विकेटहरू गुमायौँ, जसले गर्दा बोर्डमा रन एकदमै कम भयो। यदि रन अलि बढी भएको भए खेलको नतिजा जे पनि हुन सक्थ्यो।’
पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाज लुम्बिनीका बलरहरूसामु निरिह साबित भयो। लुम्बिनीले खेलको पहिलो ओभरदेखि नै आक्रामक बलिङ गर्दै काठमाडौंलाई तनाबमा राखेको थियो।
इनिङ्सको सुरुवातमै काठमाडौंको ब्याटिङ लाइनअप धर्मराएको थियो। स्कोरबोर्डमा जम्मा १४ रन जोड्दा काठमाडौंले आफ्ना भरपर्दा ४ ब्याटरहरू गुमाइसकेको थियो।
काठमाडौंका ओपनर बेन चाल्र्सवर्थ मात्र ४ रन बनाएर आउट भए भने अर्का ओपनर आकाश त्रिपाठीले जम्मा १ रनको योगदान दिँदै पेभिलियन फर्किए।
निकै महत्वपूर्ण मानिएको ‘एलिमिनेटर’ खेलमा दुवै ओपनर सस्तैमा गुमाएपछि काठमाडौं गम्भीर दबाबमा पर्यो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्नी पटेल ७ रन र मिलिन्द कुमार १ रनमै आउट भएपछि लुम्बिनीले खेलमा पूर्ण नियन्त्रण जमाइसकेको थियो।
त्यसपछि क्रिजमा आएका भीम सार्की र जोन सिम्पसनले इनिङ्स उकास्ने प्रयास गर्दै संयमित ब्याटिङ गरे। तर, लुम्बिनीका कप्तान रोहित पौडेलले उनीहरूको साझेदारी लामो समय टिक्न दिएनन्।
दुवै सेट ब्याटरलाई आउट गर्दै रोहितले काठमाडौंको पुनरागमनको सम्भावनालाई कमजोर बनाइदिए। काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए, जुन टोलीको सम्मानजनक स्कोरका लागि पर्याप्त थिएन।
काठमाडौंले प्रस्तुत गरेको ११२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सले पनि केही दबाबको सामना गर्नुपर्यो।
यद्यपि, टोलीले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। लुम्बिनीका लागि विदेशी खेलाडी डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान दिए। उनले संयमित ब्याटिङ गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए। डार्सीपछि सन्दीप जोराले पनि महत्त्वपूर्ण रन जोड्दै टोलीको जितमा भूमिका खेले।
लुम्बिनीका ब्याटरहरूले व्यक्तिगत रूपमा ठूलो स्कोर खडा गर्न नसके पनि क्रिजमा संयमित भएर साना-साना साझेदारी गर्दै लक्ष्य पूरा गरे।
जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङमा सुधारको खाँचो रहेको औंल्याए। ‘खेल जितेपछि सबै कुरा ठिक छ जस्तो लाग्छ, तर ब्याटिङमा हामीले सोचेको जस्तो प्रदर्शन हुन सकिरहेको छैन,’ रोहितले भने, ‘टोलीको हिसाबले हामी जितिरहेका त छौँ, तर ब्याटिङमा अझै ध्यान दिनुपर्नेछ।’
कप्तान पौडेलले बलरहरूको खुलेर प्रशंसा गरे। उनले भने, ‘हामीले काठमाडौंविरुद्ध जसरी सुरुवात गर्यौँ, विशेष गरी पावरप्लेमा ४ विकेट लियौँ, त्यसले विपक्षी टोलीलाई ठूलो दबाबमा पार्यो। शेर मल्लले निकै कसिलो बलिङ गर्नुभयो, जसले हामीलाई खेलमा हाबी हुन मद्दत गर्यो।
यस निर्णायक खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलको भूमिका नायकको रूपमा रह्यो। उनले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा ‘अलराउन्ड’ प्रदर्शन गर्दै टोलीलाई क्वालिफायर–२ सम्म पुर्याउन महत्वपूर्ण योगदान दिए।
बलिङतर्फ रोहितले काठमाडौं गुर्खाजमाथि एक्लै हाबी हुँदै ३ महत्वपूर्ण विकेट लिए। उनले आफ्नो ४ ओभरको स्पेलमा २५ रन मात्र खर्चिएर काठमाडौंको मध्यक्रमलाई ध्वस्त पारेका थिए।
खेलअघिको रणनीतिबारे बोल्दै रोहितले भने, ‘खेलभन्दा अघि नै कति विकेट लिन्छु भनेर सोचिँदैन, तर खेलको परिस्थिति अनुसार बलरलाई कसरी प्रयोग गर्ने भनेर सोचिन्छ। आजको खेलमा पनि अवस्था अनुसार आफैँलाई फिट हुन्छ भनेर बलिङ गर्न आएँ, जुन सफल भयो।’
ब्याटिङतर्फ पनि तेस्रो नम्बरमा क्रिजमा आएका रोहितले जिम्मेवारीपूर्ण इनिङ्स खेले। उनले २५ बलको सामना गर्दै १८ रन बनाएर टोलीलाई लक्ष्यतर्फ डोर्याए। गत सिजनमा खराब प्रदर्शनका कारण आलोचना खेपेका रोहितको यो सिजनको प्रदर्शन र कप्तानीले अहिले सर्वत्र प्रशंसा बटुलिरहेको छ।
जारी दोस्रो संस्करणको एनपिएलमा लुम्बिनी लायन्सको यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। गत सिजन (पहिलो संस्करण) मा खराब प्रदर्शन गर्दै अंक तालिकाको पुच्छरमा रहेर लिग टुंग्याएको लुम्बिनीले यसपटक भने उत्कृष्ट ‘कमब्याक’ गरेको छ।
लुम्बिनी यस सिजनमा प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोली बनेको थियो। साविक विजेता जनकपुर बोल्ट्सलाई लिग चरणको अन्तिम खेलमा पराजित गर्दै लुम्बिनीले एनपिएलको इतिहासमै पहिलो पटक प्लेअफमा स्थान बनाएको हो।
लुम्बिनीको यो सिजनको यात्रा उतारचढावपूर्ण रह्यो। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको लुम्बिनीले त्यसपछि भने लय गुमाएको थियो।
दोस्रो खेलमा कर्णाली याक्ससँग, तेस्रो खेलमा काठमाडौं गुर्खाजसँग २२ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित हुँदै लुम्बिनीले लगातार तीन हार व्यहोरेको थियो।
लगातार तीन हारपछि लुम्बिनीको प्लेअफ यात्रा लगभग असम्भव जस्तै देखिएको थियो। तर, पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेपछि लुम्बिनीले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्यो।
त्यसपछिका खेलहरूमा सुधारिएको प्रदर्शन गर्दै लुम्बिनीले प्लेअफसम्मको कठिन यात्रा तय गर्यो। विशेष गरी बलियो मानिएको विराटनगर किंग्स र साविक विजेता जनकपुरलाई हराएपछि लुम्बिनीको चर्चा चुलिएको हो।
अहिले बेजोड लयमा रहेको लुम्बिनी लायन्स फाइनल प्रवेशबाट मात्र एक कदम टाढा छ। गत संस्करणको पुच्छरको टोली यसपटक उपाधिको बलियो दाबेदारको रूपमा उदाएको छ।
अब बिहीबार हुने दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सको सामना गर्नेछ। यो खेल जित्ने टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
लिग चरणको खेलमा लुम्बिनीले विराटनगरलाई पराजित गरेको इतिहास भएकाले लुम्बिनी उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ।
यद्यपि, कप्तान रोहित पौडेलले विगतको नतिजाले भोलिको खेलमा खासै अर्थ नराख्ने बताएका छन्। विराटनगरसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने उनको बुझाइ छ।
‘भोलिको खेल दुवै टोलीको लागि निकै महत्वपूर्ण छ। हामीले लिग चरणमा विराटनगरलाई हराएका छौँ, तर त्यो नतिजाले भोलिको खेललाई प्रभावित पार्दैन,’ रोहितले खेलपछि पत्रकारहरूसँग भने, ‘विराटनगर एकदमै बलियो टोली हो। उसको अगाडि हामी पनि बलियो प्रस्तुति दिनेछौँ र फाइनल पुग्ने लक्ष्य राख्नेछौँ।’

Comment