कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास गर्ने लक्ष्यलाई अघि सार्दै पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडी बढाएको छ।
नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा र स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना तयार गर्ने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरलाई पाँचवर्षे शिक्षा योजनातर्जुमा समितिको संयोजकमा नियुक्त गरिएको छ।
ऐरको संयोजकत्वमा अब बन्ने योजनाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका चुनौती, आवश्यकता, पूर्वाधार, जनशक्ति, सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरका सूचकलाई समेटेर व्यावहारिक र परिणाममुखी शिक्षा खाका तयार गरिने भएको छ।
समितिमा निजी विद्यालयका तर्फबाट डम्बर दत्त अवस्थी, सामुदायिक विद्यालयका प्रधानाध्यापकबाट पीताम्बर जोशी र धनसिंह महरा सदस्यका रूपमा तथा नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्ट सदस्य–सचिवका रूपमा रहनेगरी नियुक्त गरेको छ।
समितिले नगरभरिका विद्यालयको अवस्था, विद्यार्थी सङ्ख्या, शिक्षक व्यवस्थापन, पूर्वाधार, सिकाइ उपलब्धि, शैक्षिक चुनौती तथा अभिभावकको अपेक्षाबारे विस्तृत तथ्य सङ्कलन गर्ने नवनियुक्त तर्जुमा समितिका संयोजक ऐरले बताए।
नगरका सबै विद्यालयमा समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यार्थीमैत्री वातावरण, आइसिटिमा–आधारित सिकाइ, र शिक्षकको क्षमता अभिवृद्धि, कमजोर विद्यालय पहिचान गरी सुधारका कार्यक्रम, बालविकासदेखि माध्यमिक तहसम्म शैक्षिक पूर्वाधारको नक्शाङ्कनको कार्य अगाडि बढाइने उनले उल्लेख गरे।
“योसँगै छात्रवृत्ति, पोषण, विशेष शिक्षा तथा समावेशी शिक्षातर्फ लक्षित कार्यक्रम र विद्यालय व्यवस्थापन समितिको भूमिकालाई सशक्त बनाउन कार्ययोजना तर्जुमाको कार्य गर्छौं”, उनले भने।
संयोजक ऐरका अनुसार पाँचवर्षे शिक्षा योजनाले नगर शिक्षाको भविष्यको मार्गचित्र तय गर्नेछ। “शिक्षा क्षेत्रमा देखिएका कमजोरी, समग्र आवश्यकता र स्थानीय आवाजलाई प्राथमिकतामा राखेर दीर्घकालीन, व्यावहारिक तथा प्रगतिमुखी योजना बनाउने लक्ष्य लिएका छौँ”, उनले भने।

Comment