रिलायन्सको आइपीओमा लगानीकर्ताको आकर्षण,पहिलो दिनमै ५ गुणा बढीको आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ निष्कासन सोमबारदेखि सुरू गरेको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री सुरु गरेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

सोमबारदेखि सार्वजनिक निष्काशन खुल्नासाथ लगानीकर्ताको असाधारण भीड देखिएको छ। खुला भएको करिब ३० मिनेटमै १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन पर्दै आईपीओ ‘ओभरसब्सक्राइभ’ भयो। दिनभरमा १० हजार २० आवेदकबाट ५ लाख ८९ हजार ८५० कित्ताको माग दर्ता भयो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा निर्धारण गरेको छ। बुक–बिल्डिङ अनुसार संस्थागत लगानीकर्ताको कटअफ मूल्य ९१२ रुपैयाँ तय भए पनि त्यसमै १० प्रतिशत छुट दिँदा सर्वसाधारणले सस्तो मूल्यमा आवेदन दिन पाएका छन्। आवेदन ५० देखि २० हजार कित्तासम्म दिन सकिन्छ। निष्काशन अवधि मंसिर २५ सम्म रहनेछ।

तीन दशकदेखि सञ्चालनमा रहेको रिलायन्स स्पिनिङ मिल्सले निरन्तर व्यवसायिक वृद्धि, बलियो वित्तीय अवस्था र निर्यात क्षमताका कारण लगानीकर्ताको विश्वास कमाएको छ। कम्पनीले भारत, टर्की, भियतनाम, बेलायतसहितका देशमा ७०–७५ प्रतिशत उत्पादन निर्यात गर्छ। आव २०८१/८२ मा मात्र उसको आम्दानी १० अर्ब २३ करोड र नाफा ४७ करोड ५८ लाख पुगेको छ।

८४४ प्रतिशत नाफा वृद्धि हुँदा पनि कम्पनीले दुई वर्षअघिको आधार मूल्यमै आईपीओ ल्याएकोले यो अवसरलाई लगानीकर्ताले निकै आकर्षक मानेका छन्। संस्थागत लगानीकर्ताले ९१२ रुपैयाँ तिरेर लिएको शेयर सर्वसाधारणले ८२० रुपैयाँ ८० पैसामै पाउने भएपछि माग तीव्र बन्नु स्वाभाविक भएको विश्लेषण छ।

अधिकारित पूँजी २ अर्ब ६० करोड रहेको कम्पनीले यसपटक कुल चुक्ता पूँजीको १० प्रतिशत मात्र सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि खुला गरेको छ। पहिलो दिनमै माग उच्च भएकोले निष्काशन अवधि लम्बिने सम्भावना छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।