सुन तस्करी प्रकरण: पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार महरालाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेश नमिलेको भन्दै उच्च अदालतले बदर गर्दै धरौटीमा रिहा गरेको हो ।

पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत असोज २६ गते पक्राउ गरेको थियो । उनलाई २०७९ पुस १० मा फ्लाई दुबईको एफजेट ०५८७ उडानमार्फत काठमाडौं आएका चिनियाँ राहदानीधारी लि हानसोङले ल्याएको भेपभित्रको सुन तस्करी प्रकरणमा मुछिएको आरोप छ।

हानसोङले ल्याएका दुई सुटकेशभित्र ७३ बट्टामा राखिएको ७३० थान भेपमा ८ करोड ५५ लाख रुपैयाँ बराबरको ९ किलो सुन लुकाइएको थियो ।

भन्सारका नासु रेवन्त खड्का एवं अन्यसँग मिलेमतोमा सुन साटासाट भएको अनुसन्धानपछि सीआईबीले ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, महराका छोरा राहुल महरा र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा चलाइएको छ। यसअघि राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका छन् ।

महरामाथि भन्सार प्रक्रियामा दबाब दिएको आरोप पनि छ। २ महिनासम्म गरेको अनुसन्धानपछि भेप साटिएको पुष्टि भएपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान अघि बढाएको थियो ।

उच्च अदालतले महरामाथि लगाइएका अभियोग, संकलित सबूत, उमेर तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थप प्रमाण आउँदै जाँदा ठहरिने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत लिएर रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरामाथि अझै अनुसन्धान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।