निराज रानाभाट । ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने मूल मन्त्रसहित लुम्बिनी प्रदेश–नवलपुरमा पहिलोपटक राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रम आयोजना हुने भएको छ। युवा पुस्तालाई स्पष्ट, आत्मविश्वासी र जिम्मेवार वक्ताको रूपमा सशक्त बनाउने दीर्घकालीन उद्देश्यले कार्यक्रम घोषणा गरिएको हो।
लायन्स क्लब ३२५ आर, क्लस्टर ३ को प्रस्तुतिमा तथा सरल नेपालको आयोजनामा हुने यो कार्यक्रमले देशभरिका युवालाई एउटै डिजिटल मञ्चमा ल्याएर आफ्नो विचार र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ। सामाजिक, शैक्षिक र डिजिटल परिवेश निकै द्रुतगतिमा बदलिरहेका बेला युवाहरूको भूमिकालाई समयानुकूल सुदृढ बनाउने अभियानका रूपमा कार्यक्रम अघि सारिएको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार प्रतियोगिता एकै चरणमा सञ्चालन हुनेछ र पूर्ण रूपमा अनलाइन मोडमै सम्पन्न गरिनेछ।
“युवा पुस्तामा अपार सम्भावना छ, तर अभिव्यक्तिको कमजोरीले क्षमतामा दबाब पर्छ। यस कार्यक्रमले युवाहरूको आवाज, प्रभाव र आत्मविश्वास उजागर गर्न सहयोग गर्नेछ,” लामिछानेले बताए।

Comment