काठमाडौं । भगवती कम्पोजिट इन्डस्ट्रिज लिमिटेडले धितोपत्रबो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिमित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० प्रतिशत बराबरका ६ लाख ४४ हजार कित्ता साधारण सेयर सार्वजनिक गर्ने भएको हो।
आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता मंसिर १० गते नेपाल लाइफ क्यापिटलमा सम्पन्न भएको हो। सम्झौतापत्रमा कम्पनीकी अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
यो आईपीओ १०–१० कित्ता दरका आधारमा ६४ हजार ४ सय जनालाई पर्न सक्ने कम्पनीले जनाएको छ।
१५ वर्षदेखि चितवनको भरतपुरमा रहेका आफ्ना उद्योगमार्फत उत्पादन गर्दै आएको कम्पनीले उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको दाबी गरेको छ। कम्पनी अत्याधुनिक सिट मोडलिङ कम्पाउन्ड प्रविधिमार्फत कभरहरू, डब्लु पीसी उच्च घनत्वको ढोका, पार्टेसन बोर्ड, वाल क्याडिङ्ग तथा वाल प्यानल उत्पादन गर्दै आइरहेको छ।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिष्ट्रेशन तथा निष्काशन–बिक्रीका लागि अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।

Comment