काठमाडौं । शिवम् अर्गनाइजेशनले विराटनगरमा करिब साढे २ अर्ब रुपैयाँ लगानीमा आधुनिक ‘आरआर इन्टरनेशनल हस्पिटल’ निर्माण गरिरहेको छ। कम्पनीले २ अर्ब ४४ करोड ८० लाख रुपैयाँ लागतमा १२१ शय्याको उच्चस्तरीय अस्पताल निर्माण गर्ने जनाएको हो।
हालसम्म अस्पताल निर्माणको ३१ प्रतिशत आर्थिक प्रगति तथा ४० प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ। अस्पताललाई सन् २०२६ को अप्रिलदेखि आंशिक रूपमा सञ्चालनमा ल्याइने र पूर्ण व्यावसायिक सेवा सन् २०२६ को जुलाईदेखि सुरु गर्ने योजना छ।
कम्पनीका अनुसार प्रतिशय्या लागत २ करोड रुपैयाँ पर्नेछ। यस परियोजनामा लगानी संरचना ७५स्२५ अनुपातमा राखिएको छ। लगानीकर्ताले प्रतिबद्धता जनाएका ६१ करोड १९ लाख रुपैयाँमध्ये ४३ करोड रुपैयाँ जुटाइसकिएको रेटिङ दस्तावेजमा उल्लेख छ।
दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। यसमध्ये दीर्घकालीन कर्जाको परिमाण १ अर्ब ८३ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जा ४ करोड रुपैयाँ रहेको छ।
कम्पनीको बोर्डमा दुईजना निर्देशक छन्। राजेन्द्र राउत अध्यक्ष तथा सीमा राउत निर्देशकका रूपमा रहेका छन्।

Comment