काठमाडौं । आसन्न आम निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले सरकारले उपलब्ध गराएको बजेट अपुग भएको भन्दै रकम थप गर्न गृह मन्त्रालयमार्फत पुनः प्रस्ताव पठाएको छ।
आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च व्यवस्थापन गर्न सरकारले दिएको बजेट कम हुने भएपछि आयोगले थप बजेटका लागि अनुरोध गरेको हो।
आयोगले निर्वाचन सञ्चालनका लागि सुरुमा ७ अर्ब ८१ करोड रुपैयाँ माग गरेको थियो। जसमध्ये सरकारले हालसम्म ४ अर्ब ९६ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। सरकारले दिएको बजेट अपुग हुने भएपछि आयोगले फेरि १ अर्ब ९० करोड रुपैयाँसम्मको बजेट थपका लागि सरकारसँग अनुरोध गरेको सहप्रवक्ता न्यौपाने जानकारी दिए।
‘निर्वाचनको लागि सरकारले उपलब्ध गराएको बजेट निकै सीमित रहेको अवस्था थियो,’ उनले भने, ‘हात बाँधेर निर्वाचन गराउनुपर्ने अवस्था आउन सक्ने हुँदा आयोगले बजेट थप गर्नका लागि आफ्नो प्रस्ताव गृह मन्त्रालयलाई पठाएको र गृह मन्त्रालयले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने प्रक्रियामा रहेको जनाएको छ।’

Comment