परानले बक्सअफिसमा रेकर्ड तोड्यो,२३ दिनसम्म १४ करोड बढीको व्यापार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नीर शाहको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘परान’ बक्सअफिसमा आक्रामक व्यापार गर्दै वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले सुरुवातीमा न्यून ओपनिङ गरे पनि चौथो सातासम्म आइपुग्दा दर्शकको बाक्लो साथ पाउँदै उल्लेखनीय कमाइ कायम राखेको छ।

प्रदर्शनको पहिलो दिन ‘परान’ ले मात्र ६ लाखको ओपनिङ गरेको थियो। तर, प्रदर्शन भएको २३ दिनमै फिल्मले १४ करोड १६ लाख ५१ हजार ग्रस कारोबार गर्दै बजारमा बलियो पकड जमाएको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तिहारपछिको बक्सअफिस रिपोर्टले ‘परान’ को व्यापारिक सफलतासँगै नयाँ रेकर्ड जोडिदिएको छ।

योसँगै ‘परान’ ले अनमोल केसी अभिनीत ‘जेरी अन टप’ लाई उछिन्दै यो वर्षको सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बन्न सफल भएको छ। ‘जेरी अन टप’ ले गत शनिबारसम्म १२ करोड ९७ लाख ४८ हजार ग्रस कमाइ गरेको थियो।

दीपक प्रसाद आचार्य (काकु) निर्देशित यस फिल्ममा नीर शाहले निर्वाह गरेको मुख्य भूमिका विशेष चर्चा बटुलिरहेको छ। फिल्ममा शेखर गोल्छा (गोल्छा समूह) र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी रहेको छ।

यसैगरी, फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ।

‘परान’ को निरन्तर बलियो व्यापारले नेपाली बक्सअफिसमा नयाँ उर्जा दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।