काठमाडौं । सर्वोच्च अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
आइतबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई हिरासतबाट छोड्न आदेश दिएको हो ।
यसअघि, न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन र पक्राउको कारण पेश गर्न आदेश दिएको थियो ।
प्रसाईंका छोरा निराजन प्रसाईंले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, तथा जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएका थिए ।
प्रहरीले प्रसाईंले सार्वजनिक रूपमा दिएको विवादास्पद अभिव्यक्तिलाई आधार बनाउँदै गत सोमबार मध्यराति भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । सोही क्रममा उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रसाईंले आजदेखि देशव्यापी हड्तालको समेत घोषणा गरेकोमा उनले नेतृत्व गरेको अभियानले शनिबार उक्त आन्दोलन फिर्ता लिएको घोषणा गरेको थियो ।

Comment