सिमरा घटना अत्यन्तै दु:खद, लोकतन्त्रमा यस्तो अराजकता अस्वीकार्य : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा बुधबार भएको घटनालाई अत्यन्तै दु:खद भन्दै लोकतन्त्रमा यस्तो अराजकता स्वीकार्य नहुने बताएकी छन्।

बुधबार राति सामाजिक सञ्जालमार्फत् सिमरा घटनाबारे प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्- ‘युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।’

बुधबार सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाहरूको झडपका कारण विमानस्थल बन्द भएको थियो भने कर्फ्यूको अवस्था सिर्जना भएको थियो।

प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको बताएकी छन्।

उनले लेखेकी छन्- ‘लोकतान्त्रिक प्रणालीका माध्यमबाट मात्र युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्छु।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।