काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले जनाएको छ । व्यस्त पेशाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रुपमा छिटो सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको बैंकको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त सेवा विस्तारसँगै ग्राहक र बैंकबीचको सम्बन्ध अझ सुमधुर हुनेमा विश्वास व्यक्त गरे । ‘नबिल बैंक ग्राहकलाई सहज रुपमा नविनतम सेवा प्रदान गर्न प्रतिबद्ध छ, अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तारले ग्राहकलाई आफ्नो अनुकुल समयमा सहज सेवा लिन सहयोग पुग्नेछ,’ उनले भने ।
बैंकका अनुसार हाल यो सेवा कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वरस्थित बैंकका शाखा कार्यालयमा उपलब्ध हुनेछ ।
यस सेवामार्फत ग्राहकले नगद तथा चेकको कारोबार लाईनमा नबसि छिटो र छरितो रुपमा गर्न पाउनेछन् । डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै बैंकिङे अभ्यासलाई छिटो र छरितो बनाउन अपोइन्टमेन्ट बैंकिङ सेवाले सहयोग गर्ने बैंकको भनाइ छ। ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सहजै अपोन्टमेन्ट लिन सक्नेछन् ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Comment