जनस्वास्थ्य कार्यालय ललितपुर बागमती प्रदेशकै उत्कृष्ट घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । बागमती प्रदेशमातहत रहेका जनस्वास्थ्य कार्यालयहरूमध्ये सबैभन्दा बढी अङक ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको हो । प्रदेशको राजधानी हेटौँडामा कार्तिक ३० गतेदेखि मंङ्सिर २ गतेसम्म भएको प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा गोष्ठीको समापनका अवसरमा जनस्वास्थ्य कार्यालय ललितपुरलाई उत्कृष्ट जिल्ला घोषित गरिएको हो । जनस्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्याङ्कनमा कुल १०० अङ्कमध्ये ७१.५९ अङ्क प्राप्त गर्दै ललितपुर जिल्ला उत्कृष्ट घोषित भएको हो । दोस्रो स्थानमा जनस्वास्थ्य कार्यालय धादिङ रहेको छ । धादिङले ७०.८६ अङ्क प्राप्त गरेको छ भने ७०.६४ अङ्कसहित जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक तेस्रो स्थानमा रहेको जनस्वास्थ्य कार्यालय ललितपुरका तथ्याङ्क अधिकृत दिपा पाण्डेले बताइन । गतवर्ष पनि जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट कार्यालयको रूपमा सम्मानित भएको थियो । दुवै कार्यकालमा कार्यालय डा. भुवन पौडेलले नेतृत्व गरेका थिए ।

अस्पताल तर्फ भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल घोषित भएको छ । प्रदेशमातहत रहेका प्रादेशिक अस्पतालहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको हो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्यांकनमा कुल १०० अंकमध्ये ७१.१० अंक प्राप्त गर्दै भक्तपुर उत्कृष्ट अस्पताल घोषित भएको हो । यसैगरी, त्रिशुली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ । त्रिशुली अस्पतालले १०० अंकमध्ये ७०.७२ प्राप्त गरेको थियो । यस्तै, चौतारी अस्पताल तेस्रो भएको छ ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सातर्फ ७२.६० अङ्कसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय सिन्धुली पहिलो स्थानमा रहन सफल भएको छ भने ७०.१० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय मकवानपुर दोस्रो र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय चितवन तेस्रो स्थानमा रहेको छ ।

उत्कृष्ट भएका जनस्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतले सम्मानपत्र प्रदान गरेका हुन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँ र स्वास्थ्यमन्त्री थापाले प्रदेशको स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताएका थिए ।

उनीहरूले प्रदेश सभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भएको र त्यसलाई कार्यान्वयन गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू हल गर्दै जानेतर्फ सरकार गम्भीर रहेको बताए । प्रदेशका आमनागरिकलाई गुनासोरहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यसम्बद्ध व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने भन्दै सेवाभावले काम गर्न आग्रह गरे 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।