काठमाडौं । आइएमई डिजिटल सोलुसन र खल्ती गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन् ।
आज बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी (सिइओ) नियुक्त गरेको हो ।
यसअघि आइएमई डिजिटल सोलुसनको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्तीको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय रहेका थिए ।
फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उहाँले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका थिए ।
बढदै गएको डिजिटल कारोवार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भए ।
रेग्मीले पिएसपि संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उहाँको खुवीलाई आइएमई खल्तीले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ ।

Comment