आज पशुपतिमा पितृका सम्झनामा बत्ती बाल्ने दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।

मार्गशीर्ष कृष्ण त्रयोदशीमा तिथिको साँझमा बत्ती बाल्ने परम्परा रहे पनि यो वर्ष चतुर्दशी तिथिमा बत्ती बाल्न लागिएको छ। पञ्चाङ्गका अनुसार सोमबार पूरै (६०) घडी त्रयोदशी थियो। मंगलबार बिहान १ घडी ३९ पला अर्थात् ७ बजेर ८ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्गमा उल्लेख छ। बुधबार ६ घडी २२ पला अर्थात् ९ बजेर १ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले बुधबार बिहान थोरै चतुर्दशी रहेकाले मंगलबार बेलुकी बत्ती बाल्न भनिएको बताए । ‘चतुर्दशीको बिहान शतबीज छर्ने विधान छ। सोमबार साँझ बत्ती बालेर बस्दा भोलिपल्ट बिहान चतुर्दशी नरहेकाले मंगलबार नै बत्ती बाल्न र बुधबार बिहान शतबीज छर्न निर्देश गरेका हौँ’, उनले भने।

श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने गर्छन्। भोलिपल्ट (चतुर्दशी) बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ।

मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ। तर मातापिता दिवङ्गत भएको एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीजरोपण गर्न नहुने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।

सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ। पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा बत्ती बाल्ने र तेस्रो वर्ष महादीप बालेर समापन गर्ने चलन चलेको देखिन्छ। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।

केही दशकअघिसम्म काठमाडौं आसपासका चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली र काभ्रे लगायत जिल्लाका श्रद्धालु बत्ती बाल्न र शतबीज छर्न आउँथे। अचेल देशैभरका श्रद्धालु बत्ती बाल्न आउने गर्छन्। आफ्नै आसपास रहेका शिवालयमा बत्ती बालेर बस्ने र शतबीज छर्ने चलन पनि छ। पुराणादि ग्रन्थमा उल्लेख नभएको तर हेमाद्रि नामक ग्रन्थमा पशुपतिनाथमा शतबीजरोपण गर्नुपर्ने बताइएको धर्मशास्त्रविद् गौतम बताउँछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।